राप्रपालाई जिताउनुस्, सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउछौं – लिङ्देन

राप्रपालाई जिताउनुस्, सत्तामा आएपछि भ्रष्टाचारीमाथि डोजर चलाउछौं – लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् । 

शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् । उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताए ।

अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे । 

उनले भने– ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरुमाथि डोजर चलाउने इच्छा छ । हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर । फागुनसम्म अस्तिका सबै सांसदहरुले तलवभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो । यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन । म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ । तर मलाई यो भत्ता, तलव खाने मन छैन । आजबाट यो सांसद पद पनि मैले त्यागे । आजबाट मेरो नाममा कुनै प्रकारको तलव, भत्ता नहाल्दिनु । मैले तपाईहरुलाई एक्लो भएकाले रोक्न सक्दिनँ । चुनाव आउँदैछ । आज म देशभर आम मतदातासँग यही कुरा भन्न आएको छु यो संसदमा मलाई साथीहरु चाहियो । म एक्लै भएँ । म साथी माग्न आएको छु । साथीहरु दिनुस् ।’
 
अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे । उनले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे । 

उनले भने- ‘कतिचोटी तपाईले उसलाई भोट दियो भने, कति वर्ष मौका दियो भने यो देश बन्छ ? बन्नेवाला छैन । गर्नेवाला छैन भन्ने कुरा तपाईहरुलाई थाहा छ, थाहा पाइ पाइकन देशको भविष्य, देशको समय बर्बाद गर्ने काममा सहभागि नहुनुहोस् । सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस् । राप्रपामा अहिले आउन सक्नुहुन्न, कोही बात छैन । काँग्रेस, कम्युनिष्ट नै भइराख्नुस् । तर यो चोटी हलोमा भोट हाल्नुस् । धरान र काठमाडौं नेपालको राजनीतिमा एक कदम अगाडी बढिसकेको छ । यहाँको चेतनास्तर उठेको छ भन्ने देखिएको छ । नेताहरु, ठूला पार्टीहरु हामीबाहेक यहाँ कसले जित्छ भन्दैथिए । तर जब बाकस खोलियो, जनताको अभिमत के रहेछ भन्नेकुरा देखियो । यो चोटी राप्रपाको पक्षमा त्यही परिणाम आउनुपर्छ । बाकस खोल्दामात्रै थाहा पाउनेगरी यो चोटी हलोमा मतदान गरिदिनुस् ।’

अध्यक्ष लिङदेनले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताए । ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उनको भनाई छ ।
 

Skip This
Logo