पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मुल्य निर्धारण गर्न एक उच्चस्तरीय मुल्य निर्धारण आयोग गठन गर्नुपर्ने बताएका छन् ।
नवलपरासी बर्दघाट सुस्ता-पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागी जप्रपा, एमाले र जसपाको तर्फबाट साझा उम्मेदवारसमेत रहेका त्रिपाठीले किसानको न्यायका निम्ति आफ्नो निर्वाचन क्षेत्रको संयुक्त कोणसभा र घरदैलो प्रचारप्रसारका क्रममा यस्तो बताएका हुन् ।
अध्यक्ष त्रिपाठीले संसारमा कुनैपनि वस्तुको मुल्य निर्धारण स्वंयम उत्पादनकर्ता कम्पनी र व्यक्तीले गर्ने गरेपनि किसानले भने आफुले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण गर्न नपाउनु नै दुःखको कुरा भएको उल्लेख गरे । अहिलेसम्म किसानले उत्पादन गरेको वस्तुको मुल्य निर्धारण व्यापारी र विचौलियाले गर्ने गरेको भन्दै उनले आपत्ति जनाए ।
उनले उखु किसानले अझैपनि आफ्नो भुक्तानी रकम नपाएको भन्दै किसानका समस्या ज्यूँँका त्यूँ रहेको जिकिर गरे । राजनीतिक दलका हरेक नेताहरुले आफुलाई किसानको छोरा भन्ने गरेपनि पदमा पुगेपछि बिर्सिने गरेको उनले बताए ।
अध्यक्ष त्रिपाठीले किसानको समस्या समाधानका लागी विगत लामो समयदेखी लड्दै आएको भन्दै आगामी दिनमा पनि किसानको हक हितका लागी लडिरहने प्रतिबद्धता व्यक्त गरे । नेपालमा किसान, मध्यम र सानो व्यवसायहरुका लागी ठुलठुल्ला घरनाहरुले लगानी नगरेको भन्दै उनले दुःखसमेत व्यक्त गरे ।
प्रतिक्रिया