नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् ।
प्रतिगामी र अवसरवादी तत्वहरुले फेरी मुलुकमा राजनीतिक दूर्घटना निम्त्याउन नदिन पनि आम मतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउनुपर्ने उनको भनाई थियो ।
शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरी प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रर्दशन गर्नुपर्ने धारणा समेत राखे । निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अथ्र्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।
उनले भने- ‘आउने मंसीर ४ गतेको प्रदेश र संघको निर्वाचनमा हामीले फेरी प्रतिगमनले टाउको उठाउन नसक्ने गरी नेपाली जनताले एकताको प्रदर्शन गर्नुपर्नेछ । र, नेपाली जनताको त्यो एकताको प्रर्दशन जसरी १२ बुँदे सम्झदारी र विस्तृत शान्ति सम्झौंता, संविधान जारी गर्दा जसरी हामीले एकता प्रदर्शन गरेको थियौं । त्यसैगरी आउने मंसीर ४ गतेको निर्वाचनमा पनि देशभरीका जनताले गठबन्धनको नेतृत्व अन्तरगत गठबन्धनका हाम्रा उम्मेदवारलाई अत्याधिक बहुमत दिएर विजयी बनाएपछि देशमा फेरी राजनीतिक दूर्घटना गर्न प्रतिगामी र अवसरवादी तत्वहरु पूरै पराजित हुनेछन । र, स्थिरता र विकास एउटा नयाँ मार्ग खुल्नेछ । त्यसकारण म चितवनबासी तपाई दिदीबहिनी, दाजुभाईहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु–हामीले इतिहासको यो अवसर बिल्कुल गुम्न दिनु हुँदैन । एउटा ठूलो अवसर हामीलाई आएको छ ।’
अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकीर समेत गरे । संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु परेको पनि उनले पटकपटक दोहो-याए ।
प्रतिक्रिया