फोक्सुन्डोको मोहनीमा परेपछि….

  • सुरेन्द्र राना –

मोबाइलको इनबक्समा अचानक मित्र अमृत भादगाउँलेको म्यासेज आयो, ‘आइतबार बेलुकीसम्म दुनै बजार पुग्नु है !’

पोहोर आयोजना गरिएको ‘खप्तड काव्य यात्रा–२०७५’को राम्रो प्रभावबाट हौसिएका छन् उनी । उनकै परिकल्पनामा कवि, लेखक र संचारकर्मीलाई मुलुकभित्र घुमाएर साहित्यिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कन्सेप्ट नेपालले काव्य यात्रा गर्दै आएको छ । यसपाला हामी ‘फोक्सुन्डो काव्ययात्रा २०७६’ को तयारीमा थियौं ।

त्यो दिन शुक्रबार थियो, रोल्पाको थबाङमा भूमे पर्वको समापन हेर्न गएको थिएँ । बस्ने इच्छा हुँदाहुँदै एसएमएस चन्द्र भाइलाई थबाङमै छोडी बस चढें ।

शहीदमार्ग हुँदै बेलुकी खाबाङ बगर–रुकुम (पूर्व) फर्कें । शनिबार बिहान पश्चिम रुकुमको यात्राका लागि झोलीतुम्बा कस्न थालेँ । खाबाङ बगरबाट राडीज्यूला पुग्नै दुइटा जिप फेर्नुपर्छ । बेलुकी सरासर राडी पुगेर अर्को दिनभर कम्तीमा ५ वटा जिप फेर्दै साँझ डोल्पा सदरमुकाम दुनै बजार पुगिन्छ ।

बर्खाको पहाडी बाटोको भर थिएन । तर पनि कस्सिएँ । अर्को दिन बिहानै रुकुमकोटतिर लागें । त्यसपछि जिप चढेर ३.५ घण्टा यात्रा तय गरियो । भिरको बाटो जिपमा घुइँकिँदा डोल्पाका नागरिककर्मी विष्णु देवकोटाजीसँग फोनमै फोकसुन्डो पदमार्गको सूचना लिएँ ।

खलंगा पुग्दा दिउँसो १ बजेको थियो, भाग्यले अन्तिम २ बजेको जिप भेटियो, साँझ छ बजेसम्म राडी पुग्न सकिने कुरा काउन्टरका भाइले बताए । हुन त ७ वर्षअघि पनि त्यही बाटो राडी पुगेकै हुँ । खलंगा एक फन्को मार्दै ओरालो कच्ची सडक हुँदै गाडी गिल्बाङतिर मोडियो । स्यार्पुतालको बाटो, सानी भेरीको पक्की पुल तरेर झिनखेतमा केही बेर नास्ताका लागि रोकियौं ।

साँझ पर्दै थियो, जिप टनाटन भयो । सास फेर्न गारो भएकाले स्वच्छ हावा फेर्न छतमा चढें । पश्चिम रुकुमको भूभाग छिचोल्दै जिप उकालो लाग्यो, करिव २८ सय मिटर उचाइमा पुगेर फेरि ओरालो झर्यो ।

झम्के साँझमा राडीज्यूला पुगियो । बिहान ठूली भेरीपारि बगाराबाट जिप चढ्न सजिलोका लागि वरै पुलनजिकै सानो होटलमा बास बस्ने निधो गरें । अनि ढिँडो र लोकल कुखुराको झोलले ज्यान तताएँ ।

ठूली भेरीको तिरैतिर महँगो यात्रा

विहानै ठूली भेरीको झोलुंगे पुल तरेर निलगढ नगरपालिकाको बगारा, जाजरकोट जिल्लामा पाइला टेकें । धन्न जिप खाली रहेछ ! म सहित अर्का दुईजना यात्रु थपिए । ठूली भेरी किनारैकिनार जिप अघि बढ्यो । जाजरकोट हुँदै बायाँ पहाड, ढुंगे बस्ती, दायाँ ठूली भेरी खोला पछ्याउँदै यात्रा अगाडि बढ्यो । असार लागेकाले बाटाभरि धान रोप्ने चटारो देखियो ।

तीन घन्टाजतिमा तल्लु बगर पुगिने सहयात्रीले सुनाए । करिब ९ बजे तल्लु बगर पुगियो । सानो लाम्चो बजार, दायाँबायाँ मोबाइल, कपडा, हार्डवेयर, खाजा पसलको चहलपहल । बर्खामा ओढ्न नजिकै पसलमा प्लास्टिक किन्न छिरें । बुटवलका अधबैसे पसले भाइ रहेछन् । ७ वर्ष भयो रे यता व्यापार गरेको, राडीदेखि सर्दैसर्दै यहाँ आइपुगेछन् ।

‘यहाँभन्दा माथि चैं जान्न’, उनी भन्दै थिए । म पनि पहाडकै मान्छे, अक्सर डाँडाकाँडामा यात्रा गरिरहने । पहाडी भूगोल र कच्ची बाटो परिचित नै थिए, खासै नौलो नलागे पनि, जिल्ला भने नयाँ । जाजरकोटमा पाइला टेक्दा थप एउटा जिल्लामा पुगेकामा मनमनै खुसी भएँ ।

अबेर नगरी फटाफट बजार छाडेर १५ मिनेट हिँडेर झोलुङगे पुल तरें । पारी गोतामकोट रुकुम (पश्चिम) पुगियो । अर्को गन्तव्य करिब साढे तीन घण्टाको बाटो, जिप भाडा ६०० रुपैयाँ । जिप भरिएको थिएन, त्यसैले नजिकैको होटलमा नास्ता खाएँ । क्या मिठो लोकल तरकारी !
६ जना यात्रुसहित जिप अघि बढ्यो । करिब २५ मिनेटमा खोला तर्दा जिपको अगाडि चक्काको स्प्लेण्डर ट्वाक्कै भाँचियो । परेन फसाद ! मिस्त्री पर्खिंदा र बनाउँदा करिब २ घण्टा रोकियो । त्यसपश्चात यात्रा अलि भिरको, सिरिङ्ग हुने बाटो रहेछ । गाडी पनि थोत्रो परेछ । तीन महिना मात्र भएको रहेछ गुरुजीले गाडी चलाउन सिकेको । फोरव्हिल पनि बिग्रेको । परेन त आपत, मुटुमाथि ढुंगा राखि यात्रा गरियो ।
उकालो नतान्दा ओर्लंदै ढुंगाको ओट राख्दै त्रिवेणी पुग्यौं । केहीअगाडि करापगाड नजिक गाडी रोकियो । पुल तरियो । दिनको ३ बजेको थियो, भोक पनि असाध्यै लागेको । पुल कटेसी बाटो छेवैमै दालभात खाएर अर्को जिपमा यात्रा अघि बढ्यो । करिब ७ किमीको भाडा २०० रुपैयाँ ।

केही समयपछि गाडी खोला किनारमा रोकियो । ओर्लेर अर्को झोलुङगे पुल तरेर खादाङ पुग्दा ५ बजेको थियो । जिपको टुंगो थिएन । त्यहि बास बस्ने निधो भो, रुकुमेली होटलमा झोला राखेर खाजा खान लागें । तल्लु बगरबाट सँगै आएका पारस भाइले जसरी पनि त्रिपुराकोट पुग्ने कुरा गरे । त्यही बेला काठमाडौंबाट आएका काव्य यात्री साथीहरूको खबर आयो, ‘नेपालगञ्जबाट जुफाल उड्ने हाम्रो प्लेन क्यान्सिल भयो ।’
मानसरोवर घुम्ने यात्रीको पिक सिजन भएकाले समिट एयरले सिमिकोट उडान भरेछ, बिचरा हाम्रा साथी नेपालगन्जमै बितारा परेछन् ! अचम्म, गाडीजस्तो ट्रिप जता पाए उतै हानिने रहेछ हवाइजहाज । यात्रुको जेसुकै होस्, पैसा कमाउतिर हिँडेछ सिमकोट । यात्रुको अवस्था कसलाई सोच्न फुर्सत छ र ! हाम्रो देशको चलन यस्तै छ, सहनै पर्यो क्यार्ने र !

खादाङ बास बस्ने सोच तुहियो, बेलुकी ६ बजे तिर जिप भरिएछ । झोलीतुम्बा बोकेर त्रिपुराकोटको यात्रा अघि बढ्यो । खोला किनारैकिनार साँझ गाडी गुड्यो म्युजिक घन्काउँदै । कच्ची बाटो, साँझ, माथिबाट ढुंगा खस्ने रहेछ । मन डराइरह्यो ।

कान्छी बजार, गाडीको अन्तिम गन्तव्य, अब झोलीतुम्बा बोकेर पुल तरेर करिब २० मिनेट अँध्यारो हिलो बाटोमा टर्च बालेर हिँड्यो गोर्खे टिम । सुनिता होटलमा पुगेर झोला बिसायौं । खाना अर्डर गर्यौं । नेपालगञ्जका साथीसँग फोन सम्पर्क भएन । टेलिकमको टावर उड्यो ।

उता साथीहरूले अर्को दिन बिहानै जाजरकोटको बाटो हुँदै बसमा आउने निधो गरेछन् । मेरोचाहिँ दोस्रो दिन पनि त्रिपुराकोटमै बास हुने पक्का भो ।

बाला त्रिपुरासुन्दरीको दर्शन

एक विहानै लुरुलुरु एक्लै १५ मिनट दक्षिणतिर डाँडामा अवस्थित त्रिपुरासुन्दरी मन्दिर चढें । प्रसिद्ध शक्तिपीठ बाला त्रिपुरासुन्दरी (२१०१ मिटर) । त्रिपुरा सुन्दरी नगरपालिका–१ डोल्पामा अवस्थित मन्दिर । मुकटेश्वर हिमालको काखमा वसेको मन्दिरको पश्चिममा ताम्रवणी नदी, उत्तरमा कागमारा हिमाल, दक्षिणतिर मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा छन् । आँखाअगाडि नजिकै पारि कठायत टोल, ब्राह्मण टोल, विष्ट टोल र मन्दिरको फेदतिर दलित टोल छन् । त्रिपुरा देवीको दर्शन गरी पूजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास ।

मन्दिरमा नेपालका विभिन्न भाग र भारतदेखिका भक्तजन आउँछन् । त्रिपुरासुन्दरी अक्षय कोषका सचिव विष्णु न्यौपानेसँग भलाकुसारी भयो । किम्वदन्तीअनुसार देवीका नौ बहिनीमध्ये ३ बहिनी यहीँ बसे र अरु ६ बहिनी कालिकोट, बाजुरा, सल्यान, बाँके र बैतडीमा बसेछन् ।
मन्दिरले भक्तजनलाई चिया र सात्विक भोजन निःशुल्क खुवाउँदो रहेछ ।

दुनैतिरको पदयात्रा

नेपालगञ्जबाट सडक मार्ग हुँदै साथीहरू आउने भएपछि मेरोचाहिँ २ रात त्रिपुराकोटमै बास भयो । मनमनै सोचँे, उखरमाउलो तराईको गर्मीले सतायो होला साथीहरूलाई । हुन त उनीहरू चिल्ड बियर, चिसो पेय र तराईको परिकारसँग रमाए कि !

अर्को दिन पत्रकार विष्णु देवकोटासँग भेट भयो । तेस्रो दिन विहानै विष्णुजी र म दुनै वजारतिर लाग्यौं । बेलुकीसम्म साथीहरू आइपुग्ने अनुमान थियो । डोल्पाका डाँडाकाँडा, खोलानाला, गाउँ बस्तीका दृश्य हेर्दै भेरी किनारैकिनार हामी कच्ची बाटो पछ्याउँदै दुनै पुग्दा दिउँसोको २ बजेको थियो । ठूली भेरी किनारमा बसेको बजार (२,०३५ मिटर) । केही बेर गुम्बा र बजार डुलेर, मःमः खाएर फर्कंदा बेलुकीको ५ बज्यो ।

साथीहरू अघिअघि, हामी पछिपछि

सुलिगाडबाट उत्तरतर्फ झोलुङगे पुल तरेर शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पुग्दा साँझ ६ बजेको थियो । मित्र विष्णुजीले निकुञ्जको इन्ट्री बुक हेर्दा २:३० बजे नै काव्य यात्री साथीहरू त्यहाँबाट उकालो लागेको देखियो ।

अघिल्लो साँझदेखि टेलिफोनको टावर गडबडीले हाम्रो सम्पर्क हुन सकेको थिएन । बिहानसम्म साथीहरूलाई भेटिएला भन्ने आशा गर्दैै हामीले फोक्सुन्डो खोलालाई पच्छयायौं । तिरैतिर हिँड्यौं । कागेनी (२२६५ मिटर)पुग्दा साँझ छिप्पियो । बाटोछेउको राजु होटलमा पस्यौँ ।

ओखलढुंगाकी राईनी दिदी डोल्पाली बुहारी भएकी रोमाञ्चक प्रेम कथा सुन्यौं हामीले ।

करिब २४ किमि पदयात्राले थकित थियौं हामी । फरासिली र मेहेनती दिदीले स्वादिलो खाना (माछा, किनिमा, ढिँडो र आराक) खुवाइन् ।

चौथो दिनमा सहयात्री भेट्दा

बिहान ५ बजे नै उठेर हिँड्यौँ । एक घण्टा हिँडेसी फोक्सुन्डो गाउँपालिकाको बोर्ड देखियो, साङता (२,४५५मि) पुगिएछ । दाहिने छेउमा स्यानो होटल रहेछ, सुरुमा एकदुई साथी देखिए । आँखा मिच्दै थिए सागर उदास दाइ, भूपिनजी, गनेस पौडेलजी, भादगाउँलेजी र देवेन्द्र बस्न्यात दाइ । त्यसपछि अरू साथी भेट्यौं । दुईजना नयाँ साथीसँग भेट भयो नेपालगञ्जका पत्रकार कमल खत्री र नुवाकोटका कलाकार कृष्णबहादुर नेपाली ।

केही बेर भलाकुसारीपछि फापरको रोटी र आलुको तरकारी ब्रेकफास्ट खायौं । त्यसपछि करिब एक घन्टा हिँड्दा हामी छेप्का (२, ६७०मि) पुग्यौँ । त्यहाँ एकछिन थकाइ मार्यौं ।

सागर दाइको उपहार

र्याची पुग्दा दिउँसोको ३ बजेको थियो । देवेन्द्र दाइको नेतृत्वमा अगाडि हिँडेका साथीले खानाको राम्रो बन्दोवस्त गरेछन् । म, मित्र चन्द्र काफ्ले र पोखरेली उपन्यासकार गनेसजी ३ घन्टा ढिलो पुग्यौं । हैट, बेइज्जतै भयो । यात्रा भनेको त सुस्त, आफ्नै चालमा पहाड, नदी, सुन्दर दृश्यको आनन्द लिने नै हो । म्याराथन दौड त होइन नि । गनेसजीको लिगामेन्ट च्यातिएकाले हिँडाइ अलिक सकस परेको थियो । त्यसैले बिस्तारै हिँड्ने साथी पाइयो ।

दमौलीका गीतकार सागर उदास एकदमै रसिक हुनुहुन्छ । यात्रामा साथीहरूलाई उपहार बाँड्ने उहाँको चलन छ । उहाँले चिठ्ठा खेलाउनुभयो । हामीले भाग्योदय चिठ्ठा पायौँ । रमाइलो भयो । धन्यवाद सागर दाइ !

अझै साढे दुई घन्टा हिँडेपछि बास बस्ने ठाउँ पुगिन्छ रे । हामीले फोक्सुन्डो पदमार्गमा यार्सा टिप्ने गाउँलेका हुलका हुल भेट्यौं । यो वर्ष यार्सा कम पाइयो रे, बिचरा यार्सा टोली निरासाका कथा सुनाउँदै थिए । सुन्दा नरमाइलो लाग्यो ।

केही वर्ष यता जलवायु परिवर्तन र अव्यवस्थित यार्चा दोहनले उत्पादन घटेको कुरा काठमाडौं फर्केर वनस्पतिविद् तीर्थ वहादुर श्रेष्ठसँग छलफल गर्दा थाहा पाइयो ।

नमुना तापिरिचा स्कुल

हामी फोक्सुन्डो पदमार्गमा हिँडिरहेका थियौं । सुम्दुवाबाट दायाँ पुङमो गाउँ हुँदै कागमारा भञ्ज्याङ जाने बाटो छुट्टियो । हामी दाहिनेतिर २५ मिनेट हिँडेर साइजल ( ३,१३० मिटर) पुग्दा निकै थकित थियौैं । फोक्सुन्डो खोला किनारमा वरपर डाँडाले घेरिएको स्यानो समथल भूभागमा कलात्मक ढाँचाको ठूलो कम्पाउण्ड सहितको भवन र गुम्बा देखियो । भलक्क देख्दै तापिरिचा स्कुल सुन्दर थियो ।

तापिरिचा स्कुल हिमाली भेककै नमुना विद्यालय रहेछ । यसको स्थापना र विकासमा शिक्षासेवी मित्र सेम्दुक लामाले सिंगो जीवन अर्पण गरेका रहेछन् । स्वीट्जरल्याण्डको तापारिचा भेहराइन र अमेरिकाको फ्रेण्ड्स अफ डोल्पाको सहयोगमा लामाको स्थानीय संस्था तापिरिचा एसोसियसन फर सोसल हेल्प ईन डोल्पाको सहकार्यमा स्कुल चलिरहेको छ । शिक्षासेवी लामाको देनले यो क्षेत्रमा शिक्षाको ज्योति फैलियो । दुर्गम गाउँ जहाँ सरकारको पहुँच छैन त्यहाँ तापारिचा स्कुलले डोल्पाली सहित छिमेकी जिल्लाका बच्चाहरूलाई राम्रो शिक्षा तथा दिक्षा दिइराखेको छ । त्यसैले शिक्षासेवी लामालाई सलाम ।

अन्तिम उकालो

हामीले फोक्सुन्डो तालको बेस क्याम्पमा अबस्थित झरना होटलमा तोङबा र सुकुटी सहित लामो भलाकुसारीले अवेर रातसम्म भरपुर आनन्द लियाैँ । ढिँडो र खसीको मासु र तोङ्बा भोजन अवस्मरणीय बन्यो । बिहान सबेरै उत्तरतिर अग्लाअग्ला डाँडा देखिए ।

‘ऊ त्यो डाँडा परतिर फोक्सुन्डो ताल हो’ भनेर स्थानीयले बताउँदा अब चै गन्तव्य नजिकै पुगेको भान भयो । केही बेर तेर्सो पैदल मार्गपछि, नाकै ठोक्किने करिब ४५ मिनेट उकालो यात्राले थकित बनायो । धेरै साथीहरू भ्यू पोइन्ट पुगेर थकाइ मारिसक्दा म, गनेसजी लगायत केही साथी बिस्तारै उकालो चढ्दै थियौँ । स्याँस्याँ, पसिना र थकानले हैरान बनायो ।

उकालीमा विस्तारै विस्तारै पाइला चाल्यौं । भ्युपोइन्ट (३,७२० मिटर) बाट २०० मिटर लामो फोक्सुण्डो झरनाको मनोरम दृश्य हेर्दा थकान मेटियो । आनन्द भयो । त्यही खुसीमा हामीले केही तस्बिर खिच्यौं ।

पदमार्गको दायाँबायाँ फुलेका हिमाली रंगिबरङ्गी फूलहरू, हरिया जंगल, वरपर अग्ला डाँडाहरूले मन शान्त भयो ।

अन्तिम उकालोको टुप्पामा पुगेपछि तेर्सो सुरु भो । नीलो विशाल ताल देखियो । मन प्रफुल्ल भयो । हामी आधा घन्टामै रिग्म गाउँ पुग्यौं । बोन चैत्य र झण्डा फरफराएको सम्म छानाको हिमाली घर देख्दा मन तुलबुलियो ।

केही मित्रहरू खुशीले उन्मत्त भई कञ्चन तालमा डुबुल्की मार्न पनि भ्याएछन् । तालमा यसरी नुहाउनु हुन्न भन्ने सायद तिनलाई थाहा रहेनछ । तालमा नुहाउन निषेधित भनेर, निकुञ्जले सांकेतिक बोर्ड राखे पर्यटक सजग हुन्थे कि ?

घुमफिर गर्ने क्रममा जुनसुकै ठाउँ पुग्दा हामीले स्थानीय संस्कृति, भाषा, वेशभुषा, रीतिरिवाज र आस्थाको केन्द्रलाई सम्मान गर्नुपर्छ । यो यात्राको अघोषित आचार संहिताजस्तै हो, हरेक यात्रीले पालना गर्दा सभ्य नागरिकको परिचय मिल्छ । हिमाली क्षेत्रका बासिन्दा हिमाल र ताललाई श्रद्धा गर्छन् । भगवानका रूपमा लिन्छन् ।

नीलो फोक्सुण्डो ताल

वाह ! फोक्सुण्डो ताल (३,६११ मिटर) । निकै बेर टोलाइरहें, यतिको उचाइमा कति सुन्दर र निश्चल ताल । प्रकृतिको वरदान अपरम्पार ।

छेवैमा सुन्दर रिग्म गाउँ । सन १९९९ मा ओस्कार मनोनित विश्व चर्चित क्याराभन फिल्म निर्माण गर्दा एरिक भ्यालीसहित सयौं कलाकार टोली महिनौं दिन बास बसेका रहेछन् यता । करिब २० वर्षअघि जय नेपाल हलमा हेरेको क्याराभन फिल्मका दृश्य झलझली याद आयो । डोल्पाली जीवनशैली, भोटको व्यापार, हिउँले ढपक्क भूगोलमा याकको ताँती । क्या मनमोहक दृश्य थियो !

फिल्मको सबैभन्दा सुन्दर र डरलाग्दो दृश्य कञ्चन फोक्सुन्डो किनारको गोरेटोमा याकको लस्कर र याक झरेको दृश्य, सम्झँदै आङ सिरिङ्ग हुन्छ । क्याराभन फिल्मले कठिन डोल्पाली जीवनशैली, सुन्दर हिमाली भूगोल र दृश्यमार्फत डोल्पालाई विश्वभर चिनायो । फ्रेन्च नागरिक एरिक भ्यालीलाई धन्यवाद !

वरिपरि चट्टाने डाँडाले घेरिएको । काञ्जिरोवा हिमालको काखमा शान्त भएर बसेको फोक्सुन्डो ताल बिहानदेखि बेलुकीसम्म विविधि रंगमा देखिन्छ । यो शान्त, सफा र सुन्दर तालको वर्णन गर्न सजिलो छैन । तालको लम्बाइ ५ दशमलव ९३ किलोमिटर, चौडाइ १ दशमलव ८० किलोमिटर र गहिराइ १ सय ४५ मिटर छ ।

ताल किनारमा ६०० वर्षभन्दा पुरानो थासिछोलिङ बोन गुम्बा छ ।

भुइँमान्छेको सम्मान र कविता वाचन

कन्सेप्ट नेपालले पोहोर साल खप्तड काव्य यात्रामा तीनजना सुदूर पश्चिमेली कलाकारको सम्मान गरेको थियो । यसपाला पनि उसले स्थानीय लोकसंस्कृति संरक्षणमा योगदान पुर्याएका ४ जना डोल्पालीलाई सम्मान गर्यो । गायिका होइसेर डोल्मा बैजी र नाम्दाक लामा, टुङ्नाबादक निमा लातार वैजी र समाजसेवी सेम्दुक आङ्क्याल रोकायालाई जनही १० हजार रुपैयाँसहित प्रमाणपत्र दिइयो । जीवनमै पहिलोचोटि यसरी सम्मान पाउँदा कलाकारका आँखामा हर्षका आँसु देखियो ।

हर्षको आँसु खसाल्दै उनीहरूले टुङ्नाको तालमा डोल्पाली गीत गाएर नाचे ।

ताल किनारमा छोटो कार्यक्रम निकै रोमाञ्चक थियो । वडाध्यक्ष निमा लामा र स्थानीयहरूको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको थियो ।

सम्मानलगत्तै कवि हेमन्त विवश, हेमन यात्री, गनेस पौडेल, सागर उदास, दिपेन्द्रसिंह थापा लगायतले आआफ्ना रचना सुनाए । कलाकर कृष्णबहादुर नेपालीले फोक्सुन्डोको चित्र प्रदर्शन गरे । त्यसैगरी कवि अभय श्रेष्ठले छोटो मन्तव्य दिए भने वातावरणविद् देवेन्द्र दाइले वातावरण संरक्षणको सन्देश बाँडे ।

फोक्सुन्डो काव्य यात्राका संयोजक भादगाउँलेजी कुनै बेला निकै भावुक बन्थे त कुनै बेला हर्षित मुद्रामा कार्यक्रम सञ्चालन गर्थे । ताल किनारमा लहरै बसेका हामी र गाउँलेले ध्यानपूर्वक सुन्यौं ।

रिग्म गाउँमा न्यानो सत्कार

फोक्सुन्डो ताल छेवैको सुन्दर गाउँ रिग्म । जुन गाउँ माथिल्लो डोल्पा र तल्लो डोल्पाको सीमा । शे–फोक्सुन्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाजीको न्यानो आतिथ्यमा हिमालयन लजमा गाउँको विकास र पर्यटनबारे लामो छलफल गर्यौं हामीले । उनले हामीलाई डोल्पाको जीवनशैली, पर्यटन र अन्य विकासका कुरा सुनाए ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र पर्ने कुना कन्दरामा सयौं वर्षदेखि बसोवास गर्दै आएको डोल्पालीसँग निकुञ्ज र सरकारले सहकार्य गर्नुपर्छ । स्थानीयको मर्का बुझेर समाधानमा हातेमालो गर्नुपर्छ ।

पर्यटन क्षेत्र फस्टाउन स्थानीयको प्रमुख भुमिका हुन्छ । अध्ययनअनुसार सरकारले नीतिनियम बनाउँदा स्थानीय निकायको सहभागिता र सरसल्लाह अनिवार्य चाहिन्छ । सरकार र स्थानीयले हातेमालो गरे मात्रै कुनै पनि गन्तव्य पर्यटकमैत्री बन्नसक्छ ।

लुकेको पुग्मो गाउँ

भोलिपल्ट फर्किने बेलामा तापरिचा स्कुलमा कविहरूले स्कुले नानीसँग नाचगान र कविता वाचन गरे । हामी तीन भाइ (अमृत भादगाउँले, चन्द्र काफ्ले र म ) स्कुलमुनि सुम्दुवाबाट ४ दशमलव ३ किलोमिटर टाढाको पुग्मो गाउँतिर लाग्यौं । हाम्रा मित्र शिक्षासेवी सेम्दुकको गाउँ पुग्मो । हामीलाई तापरिचा स्कुलका शिक्षक निमाजीले बाटो देखाए ।

म र चन्द्रजी पछिपछि र दुईजना अगाडि । गाउँ पुग्न डेढ घन्टा लाग्यो । मेरा खुट्टाका औंला दुखेकाले पाइला विस्तारै चल्यो । अमृतजी र निमाजीले हामीलाई निकै पछाडि पारिदिए ।

केहीछिनमा बोन चैत्य भेट्यौं । अलि पर लुकेको गाउँ देखियो–झण्डा फरफराउँदै गरेको सुन्दर गाउँ देख्दा मनमा ऊर्जा बढ्यो । लुकेर बसेको गज्जबको पुग्मो गाउँ (३,२०० मिटर) । बोन झण्डा, बोन गुम्बा, झुरुप्प काठ, ढुंगा र माटोले बनेका घर । हामीले सेम्दुक सरको घरमा न्यानो स्वागत पायौँ । सँगैको घरको कौसीमा आराम गर्दै छ्याङ र सुकुटी खायौं ।

त्यहीँ आएर वडाध्यक्ष लार्के लामाले विकास निर्माणका कुरा सुनाए । उनीसँग गाउँको जानकारी, संस्कृति, पर्यटन र विकासबारे मीठा गफ भए । उनले हामीलाई बोन गुम्बा दर्शन गराए ।

एकैछिनमा किट्लीमा एकजना आमाले आराक ल्याउनुभो । कति राम्रो चलन, पाहुनालाई वरिपरि छिमेकीले आराक ल्याउँदै स्वागत गर्ने । छोटो समय भए नि, गाउँको पाहुना सत्कारले मोहनी लगायो । कुनै दिन २,३ दिन धित मरुन्जेल यस लुकेको गाउँमा आउनु पर्ला ! धित मर्ने गरी रमाउनलाई ।

प्रायः फोक्सुन्डो जाने पर्यटक सीधै माथि तालमा पुगेर उतैबाट फर्कन्छन् । फोक्सुन्डो यात्रा गर्दा एक रात पुग्मोमा बास बस्नै पर्ने रहेछ, नत्र फोक्सुन्डो यात्रा अधुरै रहन्छ ।

फर्कन अबेर भइसकेको थियो । इच्छा नहुँदानहुँदै पुग्मोलाई बिदाइ गर्यौं ।

पुग्मोको आतिथ्यले उर्जा थपिएछ, फर्कंदा हाम्रा पाइला निकै तेज थिए । एक घण्टा ५ मिनेटमा सम्दुवा पुग्यौं । झोलुंगे पुल तरेर हतारहतार फोक्सुन्डो खोलाको देब्रे च्यापेर ओरालो लाग्याँै । निमा भाइ तापिरिचातिर लागे, हामी पुल तरेर तलतिर । हिँडाइको गति निकै चाल्दा पनि साथीहरूलाई भेट्न सकेनौं ।

र्याँची पुग्दा साँझ पर्यो । तेज गतिमा पाइला चाल्यौं, अन्ततः खोलाको काठे पुलनजिकै टेन्टमा बास बस्यौं ।

डोल्पाली भूमिमा किराती वाचिपा

बिहान चियाको चुस्कीलगत्तै बाटो ततायौँ, छेप्का पुग्दा साथीहरूको खबर पायौँ । त्यहाँबाट लम्कियौँ साङ्ता पुग्न । त्यहाँबाट पनि साथीहरू हिँडिसकेछन् । उपल्लो डोल्पालीको हिउँ छल्ने गन्तव्य कागेनी पुग्दा उही राईनी दिदीकोमा साथीहरू भेटिए ।

लोकल कुखुराको मोलमोलाइ गर्दागर्दै ८ हजार मूल्यको भाले ७ हजारमा मोल छिनियो । कवि हेमन, दिपेन्द्र र गनेसजीलाई डोल्पाली कुखुरो समात्न हम्मेहम्मे भयो । निकैबेरको मेहनेतपछि समातिछाडे ।

हेमन यात्री वाचिपा बनाउन लागे । डोल्पाको भूमिमा पूर्वेली वाचिपाको स्वाद नौलो थियो । दिउँसोको स्वादिष्ट खाना खाइसकेर हामी ओरालो झर्यौं।

ताजा समाचार

 फोक्सुन्डोको मोहनीमा परेपछि….