नेपालमा नानो युरिया मलको बिक्री शुरु

नेपालमा नानो युरिया मलको बिक्री शुरु


नेपालमा नानो युरिया मलको बिक्री शुरु भएको छ । नानो युरिया मललाई नेपालमा चौधरी ग्रुपअन्तर्गत रहेको सिजी एग्रोले बिक्री शुरु गरेको हो । 

आईतवार एक कार्यक्रमका बीच भारतका पूर्व केन्द्रिय रेल्वेमन्त्री सुरेश प्रभु र चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरुपमा नानो युरिया मल नेपालमा बिक्री वितरण शुरु भएको घोषणा गरे । 

इण्डियन फार्मर फर्टिलाइजर को–अपरेटिभ लिमिटेड इण्डियाले उत्पादन गरेको सो मललाई ‘सिजी–आइएफएफसिओ’ नाम दिइएको छ । सो मल तरल अन्नबाली, दाल, तरकारी, चिया, उखु, फलफूल, औषधि अन्नबालीका साथै सबै प्रकारका बाली र बोटबिरुवामा छर्कन सकिने जनाइएको छ । 

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा युरिया मलको अभावलाई परिपूर्ति गर्नका लागि नेपालमा नानो युरिया मल भित्राइएको बताए । 
 
नानो प्रविधिमा आधारित नानो युरिया सुक्ष्म तरल मल भएको बताइएको छ । यसले बिरुवाको वृद्धिविकासका लागि आवश्यक पर्ने पोषक तत्व नाइट्रोजन प्रदान गर्ने जनाइएको छ । नानो युरिया मललाई पातबाट छर्किने जानकारी दिइएको छ । १ लिटर सफा पानीमा २ देखि ४ मिलिलिटर नानो युरिया झोल मल मिसाएर बालीको पातमा छर्कनसकिने कम्पनीले जनाएको छ । बाली लगाएको ३० देखि ३५ दिनपछि र फूल फुल्ने एक हप्ताअघि दुईपटक छर्किनुपर्ने बताइएको छ ।

Logo