प्रदेश नं.२ : राजधानी र नामकरण अध्ययन समिति गठन

जनकपुरधाम,

प्रदेश नं. २ को राजधानी र नामाकरणको विषय टुंगो लगाउन अध्ययन विशेष समिति गठन भएको छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा कार्य सञ्चालन (पहिलो संशोधन) नियमावली ०७५ को नियम ७३ क को उपनियम (९) र नियम ७३ ख को उपनियम (९) बमोजिम प्रदेशको राजधानी र नामाकरण तोक्ने सम्बन्धी प्रस्तावमाथि दर्ता भएको संशोधनको अध्ययनका लागि समिति गठन गरेको हो।

प्रदेशसभामा प्रतिवेदन पेश गर्न सभामुख सरोजकुमार यादव सभापति तथा उपसभामुख उपमा कुमारी देव उपसभापति रहने गरी ११ सदस्यीय समिति गठन गरिएको हो । जसमा नेकपाका नेता सत्यनारायण मण्डल, रामकुमार यादव, समाजवादी पार्टीका उपनेता रामअशिष यादव, शैलेन्द्रकुमार यादव, राजपा नेपालका सचेतक परमेश्वर साह, रानी कुमारी तिवारी, नेपाली कांग्रेसका रामसरोज यादव, नरेशकुमार यादव र सावित्री देवी साह छन् ।

गठित समितिले प्रदेश नामाकरण तथा राजधानीको टुंगो लगाउन सरोकारवाला निकायसँग छलफल तथा अन्तर्क्रिया गरेर १ महिनामा प्रतिवेदन प्रदेशसभामार्फत सार्वजनिक गर्नेछ । प्रदेशसभा गठन भएको झण्डै १ वर्ष ९ महिनाको अवधिमा सत्तारुढ दलबीच नै नामाकरण र राजधानीमा चर्को मतभेद उत्पन्न भएपछि समितिबाट निकास दिन लागिएको हो ।
अन्नपूर्णबाट