जीवनका सम्पूर्ण समस्या समाधान गर्ने शास्त्रीय उपाय

कुनै पनि व्यक्तिको जीवनमा पाँच प्रकारका समस्याले सताउन सक्छन् । पहिलो दैहिक वा शारीरिक स्वास्थ्यसम्बन्धी, दोस्रो मानिसिक वा मनसम्बन्धी, तेस्रो आत्मिक वा आत्मासम्बन्धी, चौथो आर्थिक वा धनसम्बन्धी र पाँचौँ अदृश्य अर्थात् देवीदवता, ग्रहनक्षत्र, वास्तु वा भूतप्रेतसम्बन्धी । यस्ता समस्याहरूलाई कसरी कम गर्न वा रोक्न सकिन्छ र आफ्नो भविष्य राम्रो बनाउन सकिन्छ त ? शास्त्रीय उपाय यस्ता छन् –

न कोही मर्छ न कसैले मार्छ

गीताले भनेको छ– हरेक संकटहरूसँग जुधेर नै मानिसको आत्मविकास हुन्छ । यदि तपाईंले बुझ्नुभयो कि तपाईं शरीर होइन । आत्माको वस्त्र हो । आत्माले वस्त्र फेरिरहन्छ, अनि तपाईंले बुझ्नुहुनेछ कि न केही मर्छ न कसैले मार्छ, सबै निमित्त मात्र हुन् । जे भयो र जे भइरहेको छ र जे हुनेछ त्यसमा तपाईंको कुनै दोष छैन, किनभने तपाईं कर्ता होइन । जसले स्वयंलाई कर्ता मान्दछन्, उनीहरू दुःखमा बाँच्दछन् । यसकारण यो सम्झनुहोस् कि तपाईं तल पर्नुभएको छ भने आफ्नै कर्मका कारण अनि माथि उठ्नुभएको छ भने पनि आफ्नै कर्मको कारण । मानिसलाई कर्मको अधिकार छ तर ऊ कर्ता होइन ।

योग र आयुर्वेदसँग नाता

भनिन्छ, यस्तो कुनै रोग छैन जसलाई नाश गर्न नसकियोस् अनि त्यस्तो कुनै शोक छैन जसलाई हटाउन नसकियोस्. । यस्तो चमत्कार आफूमा घटित होस् भन्ने चाहना छ ? छ भने आफ्नो जीवनशैली बदल्नुहोस् अनि जीवनलाई योग र आयुर्वेदको नियमअनुसार चलाउनुहोस् । बिहान उठ्नेबित्तिकै चिया, कफी, खाजा खान छाडेर पहिले कागतीपानी वा ताजा फलफूलको रस पिउनुहोस् अनि शौचादि कर्म गर्नुहोस् । त्यसपछि ६ देखि १० पटक सूर्यनमस्कार आसन गर्नुहोस् । १५–२० मिनेटपछि पानी पिउनुहोस् । मध्याह्नमा आयुर्वेदले निर्देश गरेअनुसार खाना खानुहोस् । खानपान परिवर्तन गरेपछि शरीर परिवर्तन हुन्छ, शरीर परिवर्तन भएपछि मन परिवर्तन हुन्छ, मन परिवर्तन भएपछि भविष्य परिवर्तन हुन्छ ।

कार्यकुशलता आवश्यक

हिन्दू धर्ममा धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थ बताइएको छ । शास्त्रले भन्छ, धर्मको ज्ञान भएपछि कार्यका कुशलता आउँछ । कार्यकुशलता भएपछि मानिसले अर्थ आर्जन गर्न सक्छ । अर्थ अर्थात् पैसा कमाउन त्यसले मात्र सक्छ जोसँग कार्यकुशलता छ । पैसा भएपछि कामोपभोग गर्नमा बाधा हुँदैन । अनि मानिसले अर्थ र कामभन्दा माथि उठेर मोक्षका विषयमा सोच्न सक्छ, सोच्नुपर्छ । जोसँग धर्मको ज्ञान छैन ऊ विनम्र, ज्ञानी, समझदार र बुद्धिमान् बन्न सक्दैन । अर्थको अभिप्राय हो, जुनद्वारा भोीतक सुखसमृद्धिको सिद्धि हुन्छ । भोतिक सुखबाट मुक्त हुनका लागि भौतिक सुख हुनु जरुरी छ । त्यसकारण यस्तो कर्म गर्नुपर्छ जुनबाट अर्थ आर्जन होस् । अर्थद्वारा नै हरेक काम सम्पन्न हुन्छन् ।

जीवनमा नियम जरुरी

धेरैजसो मानिस जतिबेला मन लाग्यो उठ्छन् अनि जतिबेला मनलाग्यो सुत्छन् । जतिबेला पनि खान्छन्, जतिबेला जहाँसुकै घुम्न निस्कन्छन् । उनीहरूको जीवनमा समयको उचित प्रबन्धन हुँदैन । उनीहरू अव्यवस्थित जीवन बाँच्दछन् । जसको जीवन व्यवस्थित छैन उनीहरू सुन्दर भविष्यको केवल सपना देख्छन् । यसकारण जीवनमा उठ्ने, पूजापाठ गर्ने, खानपान गर्ने, सुत्ने र उठ्ने तथा लक्ष्यलाई पूरा गर्नेजस्ता विविध कुराहरूको नियम बनाउनु पर्छ । समयलाई विनासित्ति गुमाउनु हुँदैन किनभने जीवन निकै छोटो छ ।

अदृश्य संसार दृश्य संसारको आधार

हिन्दू धर्मअनुसार दृश्य संसारको आधार अदृश्य संसार हो । अदृश्य संसारलाई नमान्नु सजिलो छ किनभने त्यसलाई बुझ्न अति नै कठिन छ । यद्यपि यथार्थ के हो भने मानव जीवनमा प्राकृतिक वातावरण, सामाजिक वातावरण, ग्रह नक्षत्र, देवीदेवता एवं प्रेत आदि अदृश्य गतिविधिको पनि प्रभाव पर्छ । यसलाई हृदयंगम गर्नु आवश्यक छ । यसका लागि घर वास्तुशास्त्रले निर्देश गरेअनुरूप हुनुपर्छ । हरेक व्यक्तिले आफ्नो एक ईष्टदेव बनाउनुपर्छ र जीवनभर दुःखका बेलामा समेत उसैको भक्ति गरिरहनुपर्छ । किनभने भक्तिमा आश्चर्यजनक शक्ति छ ।