कुन सर्तमा छुटे ज्ञानेन्द्र शाही ?

काठमाडौं । पत्रकार सम्मेलनमा हातपात भएपछि प्रहरी सुरक्षामा रहेका भ्रष्टाचार विरोधी अभियान्ता ज्ञानेन्द्र शाही छुटेका छन् । आइतबार पुल्चोकमा आयोजित पत्रकार सम्मेलनमा उनीमाथि हात भएपछि प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएको थियो ।

शनिवार नेपालगञ्ज विमानस्थल पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज एक घण्टा ढिला भएको भन्दै उनी जाइलागेका थिए । त्यसबारे थप प्रष्ट पार्न आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीमाथि प्रश्नका प्रश्न राखिएको थियो । त्यसको प्रतिवाद गर्न खोज्दा हातपात भएको थियो ।

पत्रकार सम्मेलनस्थलमा रहेको प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको थियो । ललितपुर प्रहरी परिषरले शाहीमाथि अभद्र व्यवहारको मुद्दा चलाउने हल्ला चलेको थियो ।

त्यस्तै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा पनि मुद्दा चलाउने प्रहरीको थियो । तर चौतर्फी विरोध सुरु भएसँगै प्रहरीले उनलाई रिहा गरिदिएको छ ।

परिषरले उनलाई सम्झाइबुझाइ छाडिदिएको हो । सार्वजनिक रुपमा बोल्दा शिष्ट र सभ्य भाषा प्रयोग गर्ने शर्तमा रिहा गरिएको परिसरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।