काठमाडौंमै बसभित्रै ११ वर्षीया बालिका बलात्कृत
File Photo

काठमाडौं । राजधानीमा बसभित्रै एक ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । राजधानीको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोकमा बसका सहचालकले बसभित्रै ११ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् । टोखा नगरपालिका ग्रिनल्याण्ड चोक बस्ने ११ वर्षीया बालिका अर्की १० वर्षीया साथीसँगै डेरा बिर्सिएर मनमैजु पुगेकी थिइन् ।

बसका चालक र सहचालकलाई ‘अंकल हामीलाई घर पुर्‍याइदिनु न’ भनेर आग्रह गरे पनि सहचालक र चालकले आफ्नै घरमा लगेका थिए। साथमा कुकुर समेत बोकेका ती बालिकाहरुलाई चालक र सहचालक दाजुभाईले खाना खान दिएका थिए । राति साढे १० बजे सहचालक बसमा सुत्न पुगे। बालिकाहरु पनि ‘हामी पनि बसमै सुत्छौं’ भनेर बसभित्रै छिरेका थिए ।

‘बसभित्र खेल्दै गर्दा दुवै बालिका निदाए । राति साढे एक बजे ११ वर्षीया बालिकालाई सहचालकले बलात्कार गरे । १० वर्षीयालाई बालिकालाई भने बलात्कारको प्रयास गरेको पाइएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नीरिक्षक समिरजंग राणाले जानकारी दिए ।

सोमबार बिहान बालिकाहरु रुँदै चिच्याएपछि स्थानीय र प्रहरीले सोधपुछ गरेका थिए। बालिकाले आफूहरुमाथि यौन दुव्यर्वहार भएको जानकारी गराएपछि सहचालक पक्राउ परेका हुन् ।