राज्यबाट सेवा सुविधा नलिने प्रण गरेर जनताको समस्यामा उभिएका ईश्वर अर्याल

राज्यबाट सेवा सुविधा नलिने प्रण गरेर जनताको समस्यामा उभिएका ईश्वर अर्याल


काठमाडौंको उत्तर-पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन् । जसमा एक स्वतन्त्र उम्मेदवार हुन् ईश्वर अर्याल । चुनावको मिति नजिकिँदै गर्दा उनको लोकप्रियताका साथै प्रभाव पनि बढ्दै गइरहेको छ ।

राज्यको ढुकुटीबाट सेवा सुविधा नलिने घोषणा गर्दै सरकारी कर्मचारीका रुपबाट मुक्त भई जनताको सुख दुःखमा सदैव साथ दिने प्रण गरेका अर्यालले जनताको मन जित्न सफल भएका छन् । उनी यसअघि भूमिसुधार मन्त्रालय अन्तर्गत काम गर्दै आएका थिए ।  

राजनीति ब्यापार नभई विशुद्द समाज सेवा हो भन्दै चुनावी मैदानमा हाेमिएका अर्याल यसअघि पनि जनतालाई समस्या पर्दा टाढा छैनन् । कोरोना महामारीले देशलाई संकटग्रस्त बनाईरहेका बेला उनको संयोजकत्वमा लायन्स क्लव र कर्मचारी युनियनमा आर्थिक सहयोग संकलन गरी दैनिक ज्यालादारी गरी जिविको पार्जन गर्नेहरुको पहिचान गरी उनीहरुको घरघरमै गई राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरेका थिए । त्यसकारण पनि उनको प्रभाव बढेको हो । 

निजामती सेवाबाट शैक्षिक अवकास लिएकोको भोलिपल्ट देखि नै अर्यालले ‘नेपाल चिनाउने अभियान’का साथ लगातार ७१ दिनसम्म विभिन्न ७७ शैक्षिक संस्था, स्थानीय निकाय, सामाजिक संघसंस्थाहरुमा अभियान पनि चलाएका थिए । भारत अतिक्रमित उत्तर–पश्चिमी भू–भाग लिपुलेक, लिम्पीयाधुरा र कालापानी समेटेर नेपालले ‘चुच्चे नक्सा’ जारी गर्दा उक्त नक्सा बनाउने नापी विभागको ‘कोर टिम’मा अर्याल पनि थिए। उनले शिर्ष नेताहरुलाई नेपालको नयाँ नक्सा हस्तान्तरण गर्नुका साथै स्कुले बालबालिकाहरुलाई नक्साको महत्व बारे पनि जानकारी गराउने गरेका छन् । 

अहिले पनि उनी मतदाताकोमा जाँदा आफ्नो घोषणापत्र (प्रतिबद्धता पत्र)सँगै चुच्चे नक्सा पनि बोकेर हिँड्छन्। देशको सीमाबारे जानकारी दिन्छन् र आफ्नो अजेन्डा सुनाउँछन्। 

देशकाे पक्षमा ठुला नितीगत निर्णय गर्दा नेतृत्वले जनताको आवाज सुन्नु पर्ने, उनीहरुलाई सहभागी गराइनु पर्ने उनकाे धारणाका कारण पनि उनकाे चुनावी माहाेल ह्वात्तै बढेकाे हाे । तर उक्त क्षेत्रमा उनलाई १३ राजनीतिक दलका उम्मेदवारको चुनौती पनि छ । 

वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र नेकपा (एमाले)को तर्फबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस (विपी)का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दवाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

Logo