माटोको ढिस्कोमा पुरिएर एक बालकको मृत्यु

महोत्तरी,

महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर सोमबार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ । दुवै जना सोही वडामा रहेका खोलामा माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले पुरिएको थियो ।

घटना घटेलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी टोलीले माटोको ढिस्कोमा पुरिएका बलको उद्धार गर्न सफल भए पनि बालक बम्जनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी वडाध्यक्ष दीपबहादुर कार्कीले बताउनुभयो ।

चट्याङ लागेर एकको मृत्यु

यता बारामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । उखु खेतमा पम्पिङसेटबाट पानी तान्न गएको बेला चट्याङ लागेर सोमबार बेलुका सिम्रौनगढ नगरपालिका–११ का ४० वर्षीय प्रभु साह तेलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।

चट्याङ लागेर आर्दश कोतवाल गाउँपालिका–४ कोइलीडिलका ३० वर्षीय विजय यादव घाइते भएको र उनको उपचार जिल्ला अस्पताल कलैयामा भइरहेको उहाँले बताउनुभयो ।