९० प्रतिशत उम्मेदवार झुठाे खर्च विवरण पेश गर्छन् -पूर्वनिर्वाचन आयुक्त पाेखरेल

९० प्रतिशत उम्मेदवार झुठाे खर्च विवरण पेश गर्छन् -पूर्वनिर्वाचन आयुक्त पाेखरेल


निर्वाचनमा प्रतिस्पर्धा गर्ने ९० प्रतिशत उम्मेदवारले भएको खर्च भएकाेभन्दा निकै कम हुने गरि झुठो खर्च विवरण पेश गर्ने गरेकाे आराेप छ । 

काठमाडौं स्कुल अफ ल भक्तपुरले मंगलबार आयाेजना गरेकाे वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र पारदर्शी बनाउन चाल्नुपर्ने कदमहरु विषयमा अन्तरक्रियामा पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेलले ९० प्रतिशत उम्मेदवारले दिएको खर्च विवरण झुठाे हुने गरेकाे बताए । निर्वाचन आयोगले खर्चको सीमा निर्धारण गरेको हुनाले उम्मेदवाहरूले वास्तविकताभन्दा कम मात्रै खर्च देखाई पेश गर्ने उनको भनाइ छ ।

यस्तै, पूर्व अर्थसचिव शिशिर ढुंगानाले पैसा खर्च गर्न नसक्नेले चुनावमा सहभागी हुने कल्पना समेत गर्न नसक्नु दुःखद् भएको बताए । जसरी पनि चुनाव जित्न पैसा खर्च गर्नु गलत भएको उनकाे भनाइ छ । चुनाव खर्चका लागि व्यापारी वा अन्यसँग पैसा चन्दा माग्दा जितेपछि जनताको होइन चन्दावालाको इच्छाअनुसार काम गर्नुपर्ने बाध्यता आइपर्ने उनको भनाइ थियो । यस हिसाबले विजयी उम्मेदवार जनताप्रति नभई चन्दादाताको रुचीअनुसार काम गर्नु पर्ने हुने उनले बताए । यही कारण चुनेर पठाउने जनतामा बितृष्णा पैदा हुने उनले बताए । 

आयोजक काठमाडौं स्कुल अफ ल भक्तपुरका अध्यक्ष डा. गोविन्दप्रसाद कुसुम, आयोजककै कार्यकारी निर्देशक प्राडा युवराज संग्रौला, प्राज्ञिक सल्लाहकार गणेशप्रसाद अधिकारीलगायतले निर्वाचन खर्चको व्यवस्थापनमा विशेष जोड दिए । 

Logo