राष्ट्रपतिद्वारा कुमारीबाट टीका ग्रहण, इन्द्रजात्रा सकियो

काठमाडौं,

राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारीबाट टीका ग्रहण गर्नुभएको छ । गएराति इन्द्रजात्राको समापनको दिन उहाँले कुमारीबाट टीका ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले शुरुमा कुमारीबाट टीका प्रसाद ग्रहणगरेपछि गणेश र भैरवबाट समेत टीका ग्रहण गर्नुभएको राजगुरुजु (कुमारीका गुरुजु) मञ्जुश्रीराज बज्राचार्यले जानकारी दिनुभयो । हरेक वर्ष राष्ट्राध्यक्षले कुमारीको हातबाट टीकाग्रहण गर्ने परम्परा रहेको छ ।

रथयात्रा नगरको विभिन्न ठाउँमा घुमाएर हुनमानढोकास्थित कुमारी घरमा कुमारी पुगेपछि राष्ट्रपति भण्डारीलाई टीका लगाइदिनु भएको हो । टीका ग्रहण गरेपछि कुमारीका गुरुजु बज्राचार्यबाट राष्ट्रपति भण्डारीले आगमको प्रसाद ग्रहण गर्नुभयो ।

इन्द्रजात्राको अन्तिम दिन मंगलबार कुमारी, गणेश र भैरवसहितको रथयात्रा साँझ साढे ६ बजे हनुमानढोकास्थित कुमारी घर अगाडिबाट निकालिएको थियो । उक्त रथयात्रा प्याफल, नरदेवी, किलागल, भेंडासिंह, इन्द्रचोक हुँदै पुनः हनुमानढोकामा पुगेको थियो । हनुमानढोकामा रथयात्रा पुगेपछि कुमारीलाई पञ्चबुद्ध गुरुजुले शान्ति स्वस्तिक गरेर भित्र लैजान्छन् ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिनदेखि परम्परागत रूपमा मनाइने इन्द्रजात्रा पर्व मंगलबार भाद्र शुक्ल चतुर्दशीका दिन समापन गरिएको छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गो बुधबार (आज) बिहान साढे ५ बजे ढालिएको छ ।
रासस