लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न कांग्रेस र एमाले एकसाथ

लुम्बिनी प्रदेशको अस्थायी राजधानी पुनः बुटवल सार्न कांग्रेस र एमाले एकसाथ


गृहमन्त्री एवं सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण खाणले लुम्बिनी प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताएका छन् । 

गृहमन्त्री खाणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताएका हुन् । चुनावी घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले रुपन्देही सबै जिल्ला र केन्द्रिय राजधानी तथा मुख्य शहरहरुसँग पनि सहज जोडिएकाले बुटवललाई अस्थायी राजधानी तोकिएपनि कोरोना कालमा देश लकडाउन भएको बेला बुटवलबाट दाङ सारिएकोमा रुपन्देहीका जनतामाथि अन्याय भएको बताए । 

रुपन्देही पूर्वाधारका हिसावले पनि सुगम भएकाले राजधानीका लागि उपयुक्त स्थान भएको गृहमन्त्री खाणको भनाई छ ।  

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो कार्यकालमा सात प्रदेशमा अस्थायी राजधानीको मुकाम उहाँले तोक्नुभएको हो । ५ नम्बर प्रदेशको राजधानी बुटवलमा तोकियो । बुटवलमा जुन खालको भौतिक पूर्वाधारको अवस्था, अन्तर्राष्ट्रिय एयरपोर्ट पनि भैरहवामा नै छ । गौतमबुद्धको जन्मस्थल पनि यसै जिल्लामा पर्छ । त्यसकारण यो जिल्लाबाट वा रुपन्देही, बुटवलबाट विदेश जान पनि सहजता छ, काठमाडौंसँग पनि कनेक्शन सुगम छ, पोखरासँग पनि यसको कनेक्शन छ, सांस्कृतिक, भौतिक सबै कुराले बुटवल अस्थायी राजधानीका लागि उपयुक्त थियो, त्यही अनुसार यहाँ राखिएको थियो । नेपाली सेनाको पृतना पनि बुटवलामा राखिएको छ । राजधानीलाई एकदम हचुवाको भरमा बुटवलबाट बाहिर सार्नु उचित थिएन । हिजो पनि बुटवलमै राख्न प्रधानमन्त्रीसँग आग्रह गरिएको हो, आज पनि छ । यसमा जनताको साथ सहयोग चाहिन्छ, मुलुक नै कोरोनाका कारण लकडाउन भएको बेलामा उहाँले निर्णय गर्नुभएको हो ।’
 
यता नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल पनि काँग्रेस नेता खाणको भनाइमा सहमत छन् । उनले आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने कुरा बारम्बार भनिसकेको बताए । 

उनले भने, ‘मैले प्रदेशको राजधानी र केन्द्र कहाँ हुनुपर्छ भन्नेकुरा भनिसकेको छु । मेरो निर्णय भन्दा विपरित प्रदेश सभाले निर्णय गरेको छ । तर यो निर्णयले बुटवलको निर्णयको औचित्य खण्डित गर्न सक्दैन । केन्द्र र प्रदेशको राजधानी हुनका लागि जे जस्ता आधारहरु चाहिन्छन् त्यस दृष्टिकोणले हेर्दा सबैभन्दा उपयुक्त ठाउँ रुपन्देही हो, बुटवल हो । जहाँसम्म प्रदेश सभाले निर्णय गरेको छ, त्यो उसको अधिकारको विषय हो, सँगै यो पनि हो कि प्रदेश सभाले चाहेमा फेरि अर्को निर्णय गर्नसक्छ ।’
 
उपाध्यक्ष पौडेलले रुपन्देहीका जनताले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न, रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्र बनाउन र  शिक्षा, स्वास्थ्य, रोजगारीमा प्राथमिकता दिन माग गरेको बताए । उनले आसन्न निर्वाचनपछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे । 

Logo