महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते

महोत्तरीमा एमाले-माओवादी कार्यकर्ताबीच झडप, पाँच घाइते


महोत्तरीमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबीच झडप भएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गर्दा दुई पक्षबीच झडप भएको स्थानीयले बताएका छन् । स्थानीय रामभुषण साहले एमाले कार्यकर्ताको कुटाइबाट पाँचजना घाइते भएको जानकारी दिए । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की दिँदै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल र रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।

Logo