कपनमा हातमुख बाँधेर एक महिलाको हत्या
सांकेतिक तस्बिर ।

काठमाडौं । कपनमा एक अधवैंशे महिलाको हत्या भएको छ। कपनको तेन्जिङ चोकस्थित किराना पसलभित्रको एउटा कोठामा हातमुख बाँधेर हत्या गरेको अवस्थामा कपिलवस्तुकी ४० वर्षीया कमला केसीको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सुत्ने कोठामै उनको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । उनी चिया पसल चलाउँथिन्, त्यहीँ मदिरा व्यापार पनि गर्थिन्।

पसलसँगै जोडिएको कोठाको खाटमा उनको शव फेला परेको सिंहले बताए। कोठामा श्रीमान् नभएको बेला उनलाई कसैले हत्या गरेको प्रहरीको अनुमान छ । ‘हात र मुखमा कपडा बाँधिएको छ । हामी अनुसन्धान गरिरहेका छौं।’ सिंहले भने ।

मृतक महिलाको शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। कार्कीको हत्या कसले किन गर्‍यो भनी प्रहरीले अनुसन्धान थालेको जनाएको छ । घटनाका विषयमा अनुसन्धान गर्न प्रहरीले सोही घरमा नै बस्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।

उनी पहिलेका श्रीमान् छोडेर अर्कैसँग बिहे गरी त्यहाँ व्यवसाय गर्दै आएकी थिइन् । उनका श्रीमान कहाँ छ भन्ने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।