मण्डनदेउपुरकी दुवै मृगौलापीडित हरिमायाको सहयोगको लागि अनुरोध
  • ज्ञानमणि नेपाल कालोटोपी
    कुन्तावेसी,काभ्रे

जिल्लाको मण्डनदेउपुर नपा वडा नं ९ (साविक महादेवस्थान गाविस वडा नं ६) गहते राताचौर निवासी २९ वर्षिय हरिमाया ब्लोन लामा मृगौला रोगबाट ग्रसित भएकी छिन् । उपचारका लागि आर्थिक अभावले उनी अहिले सहयोगी दातासँग याचना गरिरहेकी छिन् ।

गत असार १२ गते शरिर सुन्निएको समस्या लिएर राजधानीको वीर हस्पिटलमा जाँच गराउन गएकी उनी त्यतिबेला छाँगाबाट खसे जस्तै भइन् , जतिबेला रिर्पोटमा दुवै मृगौला फेल भएको देखियो । यो रोगको पहिचान भएपछि परिवारमा चिन्ता थपिएको छ । आर्थिक अभाव एकातिर छँदैछ भने हस्पिटलले तुरुन्तै मृर्गौला फेर्नु पर्ने बताएको छ ।

शुरुमा औषधिको प्रयोग गरिएकोमा समस्या झन बढ्दै गएकोले मृगौला ट्रान्स्प्लान्ट गर्नु पर्ने भएको हो । मिल्ने मृगौला खोज्न परिवार लागि परेका छन् । ट्रान्सप्लान्ट नगरुन्जेल डाईलासिस गर्नु पर्ने अवस्था भएपनि नसा नभेटिएकोले त्यो सम्भावना नभएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

हातको एक्स रे को लागि असोज १० गते हस्पिटलले बोलाएको छ । उपचारका लागि करिव २० लाख रुपैयाँ लाग्ने बताइएको छ । निम्न आर्थिक अवस्थाका कारण यति धेरै रकम जुटाउन परिवारलाई गाह्रो छ । त्यसैले सहयोगीहरुको खोजी गर्नु परेको उनका श्रीमान् श्याम लामाले बताए ।

उनको समस्या देखेपछि कुन्तावेसीमा रहेको श्री मण्डनदेउपुर साकोस कुन्तावेसीले हरिमाया उपचार सहयोग कोष स्थापना गरेको छ । सहयोगका लागि सो साकोसको बैंक खाता नं देव बिकास पाँचखाल शाखा : 30110621000528, जनता बैंक कुन्तावेसी शाखा : 062002027003801 , एनसिसी बैंक सिपाघाट शाखा : 1090000003401 मा रकम जम्मा गर्न वा विरामीका पति श्याम लामाको नाममा जनता बैंक कुन्तावेसी शाखाको खाता नं. : 062104070370001 मा (श्याम लामा , बिरामिकाे श्रीमान : 9808674585 ) सहयोग गर्न सकिने मण्डनदेउपुर साकोसका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्मरणिय कुरा के छ भने मण्डनदेउपुरमा पछिल्ला केहि वर्ष यता मृर्गौला रोगी, क्यान्सरका तथा यस्तै प्रकृतिका अन्य दीर्घरोगका बिरामीहरु वढ्न थालेका छन् । यसअघि पनि यहाँका चारजना विरामीहरुलाई यस्तै सहयोग अभियानबाट आर्थिक संकलन गरिएको थियो ।