छोराको आशमा १२ सन्तान, फेरि गर्भवती !

वीरेन्द्रनगर,

ताँजकोट गाउँपालिका–२, कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्मदिएकी उनले ज्यान जोखिममा पारेर पाँच पटक गर्भपतन गरिन् । जसको असरले उनको ज्यान अहिले कमजोर बनेको छ। सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन्।

अहिले पनि उनी गर्भवती छिन् । उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तान जन्माइन् । छोरा पाउने आसमा उनले ३९ वर्षको उमेरसम्ममा आठ सन्तान जन्माएकी हुन् । धेरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने, खान मन नलाग्ने जस्ता समस्याले उनी पीडित छिन्। छोराको पखाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने शर्मिला र दाना कटेल गाउँका प्रतिनिधि आमा मात्र हुन्। आफ्नो वंश विस्तार हुने र मरेपछि दागबत्ती दिनका लागि छोरा नै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित पति, परिवार र समाजको दबाबमा हिमाली जिल्ला हुम्लाको कटेल गाउँका आमाहरू अहिले पनि इच्छाविपरीत छोरी जन्माउन बाध्य छन्।

सुरुदेखि नै शरीर र पेट दुख्ने समस्याबाट ग्रसित ५१ वर्षीया बैसागी जैसीलाई दुई सन्तानभन्दा बढी जन्माउन मन थिएन । तर पाँचवटा लगातार छोरी मात्रै जन्मेपछि छोराकै पर्खाइमा ९ सन्तान जन्माउनुप¥यो। हरेक पटक सुत्केरी हुँदा आफू कम्तीमा दुईपटक मृत्युको मुखबाट बचेको बताएकी बैसागीले गहभरि आँसु पार्दै भनिन्, ‘हामी महिला त लोग्न्या (पति) को इच्छा अनुसार सन्तान जन्माउन्याँ (जन्माउने) मेसिन मात्रै भएछौं।’ छैटौं सन्तानसम्म छोरी मात्रै जन्मेपछि सुत्केरीको अवस्थामा पूरा पेट खाना खानसमेत नपाएको विगत सम्झँदै बैसागीले बीचमा एक सन्तान खेर गएपछि आठौं सन्तानका रूपमा जेठो छोरालाई जन्म दिइन्।
नागरिकबाट