होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न वाग्लेको आग्रह

होटल इच्छा दिनभर प्रहरीको घेरामा, सत्ता शक्तिको दुरुपयोग नगर्न वाग्लेको आग्रह


बारा क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेको लगानी रहेको सिमरास्थित होटल इच्छामा शनिबार दिनभर नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ मा रहेको होटल परिसर भित्र र प्रवेशद्वारमा प्रहरी परिचालित गरिएको हो ।

प्रहरीले दिनभर होटल क्षेत्रलाई घेरा हालेर राखेका थिए । प्रहरी परिचालित भएपछि स्वतन्त्र उम्मेदवार वाग्लेसहित परिवार र उनका समर्थक आतंकित देखिन्थे । आइतबार हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार वाग्लेको तर्फबाट मतदान प्रतिनिधि चयन गर्ने र खटाउने काम भईरहेका बेला प्रहरी परिचालन गरिएको थियो ।

प्रहरी परिचालन गरिएपछि मतदान प्रतिनिधि खटिन आएका वाग्लेका समर्थक होटलभित्र प्रवेश गर्न समेत डराएका थिए । मतदान अधिकृतले माग गरेबमोजिम उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस लिन तोकिए बमोजिमका प्रतिनिधि होटलमा आएका थिए ।

सिफारिस लिन आएका प्रतिनिधिको मनोबल कमजोर बनाउन र स्वतन्त्र अभियानलाई प्रभावित पार्ने उदेश्यसहित प्रहरी परिचालित भएको स्वतन्त्र उम्मेदवार वाग्लेले बताए । सत्ता शक्तिको दुरुपयोग गर्दै नियोजितरुपमा प्रहरी परिचालन भएको वाग्लेको भनाई थियो ।

'हामीमाथी सत्ता शक्तीको दुरुपयोग गरेर नियमित प्रहार भइहेको थियो । आज पनि त्यही गरियो,’ वाग्लेले भने, ‘मतदान प्रतिनिधि खटिन आएका व्यक्तिलाई गेटमै रोक्ने र फर्काउने काम निर्वाचन आचारसंहिता विपरित हो । प्रहरी निष्पक्ष निर्वाचन गर्ने पक्षमा देखिएको छैन ।’

प्रहरी परिचालन गरेर आफूहरुको अभियानलाई प्रभावित पार्न खोजिएको विषयलाई जनताले मुल्यांकन गर्ने वाग्लेले बताए । सत्ताको दुरुपयोग गरेर आतंकित बनाउने काम गरेको भन्दै वाग्लेले भयरहित वातावरणमा निर्वाचन गराउने भूमिका खेल्न प्रहरीप्रशासनलाई आग्रह गरेका छन् ।

प्रहरी परिचालित भएपछि अमलेखगंजस्थित मतदान केन्द्रमा खटिन आएका प्रतिनिधि होटल बाहिरबाटै फर्किएका थिए । उम्मेदवारको हस्ताक्षरसहितको सिफारिस नलिई प्रतिनिधिहरू फर्किन थालेपछि प्रतिनिधि चयन प्रक्रिया केहीबेर प्रभावित बनेको थियो ।

यता बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले भने होटलमा पैसा वितरण भईरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरेको बताएका छन् । ‘होटलमा पैसा वितरण भइरहेको भन्दै सूचना प्राप्त भएको थियो । त्यो सूचना प्राप्त भएपछि हामीले प्रहरी परिचालन गरेर निगरानी गरेका हौं,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘हामी कसैप्रति पूर्वाग्रह छैनौं । निष्पक्षरुपमा मतदान सम्पन्न गर्न प्रतिवद्ध छौं ।’

Logo