मतगणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त

मतगणना आज राति ९ बजेबाटः प्रमुख निर्वाचन आयुक्त


प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मतगणना सुरू गरिने बताएका छन् । 

आईतवार भक्तपुरको युनिक नेपाल एकेडेमीस्थित मतदान केन्द्रबाट उनले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदान गर्दै यस्तो बताएका हुन् । आज बिहान ७ बजेबाट देशभर नै एकैचरणमा मतदान शुरु भएको छ । आफ्नो मत खसालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थपलियाले यस निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मतदान हुनेमा आयोग विश्वस्त रहेको बताए । 

उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने जानकारी दिए । उनले हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताएका छन् । 

उनले प्रत्यक्षतर्फको नतिजा आगामी ८ दिन भित्रमा प्रकाशित गर्ने बताएका छन् । उनले मंसिर २२ गते भित्रमा सबै नतिजा आउने पनि बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरुलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताएका छन् । थपलियाले मतदान केन्द्र अहिले शुरुमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको भनाई राखे ।  

Logo