निर्वाचन आयोगद्वारा राष्ट्रपतिलाई उपनिर्वाचन तयारीको जानकारी

काठमाडौं,

निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीयतहका रिक्त सदस्य पदमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीका गतिविधि प्रस्तुत गरेकोे छ ।

प्रस्तुतिमा विशेष गरेर उपनिर्वाचन गरिने रिक्त पदका बारेमा जानकारी, विवरण, निर्वाचन कार्यतालिका, बजेट तथा जनशक्ति व्यवस्थापन, राजनीतिक दल दर्ताको अवस्था, निर्वाचन सामग्री व्यवस्थापन र मतदाता शिक्षा लगायत विषय केन्द्रित रहेको आयोगका प्रवक्ता गिरिजा शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिले सो अवसरमा आयोगलाई मतपत्र सरल र स्पष्ट बनाउन, उपनिर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन तथा थप सुधारका कदम चाल्न आयोगलाई निर्देशन दिनुभयो । राजनीतिक दलसँग निरन्तर संवाद र समन्वयमा रही निर्वाचन व्यवस्थापनको सर्वस्वीकार्य वातावरण बनाउन आयोग क्रियाशील रहनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुझावका लागि राष्ट्रपति भण्डारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।