सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य

काठमाडौं,

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन विहिबारदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको हिजोको तेस्रो बैठकमा अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाउनु भएको थियो ।

पत्रमा चालू अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । बैठकको अन्त्यमा सभामुख महराले भन्नुभयो, “चालू अधिवेशन राति १२ बजेबाट स्वतः अन्त्य हुने गरी बैठक स्थगित भएको छ । वर्षे अर्थात् बजेट अधिवेशनका रुपमा वैशाख १६ गतेबाट शुरु भएको यो अधिवेशनमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भई पारित भएको थियो । यो अधिवेशन १४४ दिन कायम रहेकोमा ६० दिनमा ६५ पटक बैठक बसी १९३ घन्टा ४० मिनेट संसदीय काम कारवाहीमा व्यतित भयो ।”

यो अधिवेशनमा सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक दुई पटक बसी ४ घण्टा पाँच मिनेट समय व्यतित भएको थियो । यस अधिवेशनमा प्रतिनिधिसभामा १७ वटा सरकारी विधेयक दर्ता भएकामा सात वटा विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेका छन् । पाँच वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन् । चार वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् । राजश्व चुहावट अनुसान्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको छ । सभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका विभिन्न विधेयक मध्ये आठ वटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने चार वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइसकिएको छ र तीन वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ । राहदानी विधेयक, सङ्घीय संसद्को दुवै सदनबाट संशोधनसहित पारित भएको छ । त्यसैगरी, राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभाको दोस्रो, तेस्रो र यस अधिवेशनमा प्राप्त भएको विभिन्न सात वटा विधेयक मध्ये दुई वटा विधेयक सभाबाट पारित भइसकेको छ भने पाँच वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ । यसरी यस अधिवेशनमा सङ्घीय संसदबाट कूल १८ वटा विधेयक पारित भए ।

सभामुख महरा रुलिङ

चालू अधिवेशनबाट पारित भएका विषय र प्राप्त उपलब्धिबारे जनता समक्ष पु¥याउन विशेष आग्रह गर्दै सभामुख महराले संविधान दिवस र नजिकिदै गरेको दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा सवैमा शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाको चालू अधिवेशन पनि अन्त्य

यता सङ्घीय संसद्, राष्ट्रियसभाको चौथो अधिवेशन पनि विहिबारदेखि अन्त्य भएको छ । गत वैशाख १६ गते प्रारम्भ भएको यस अधिवेशनमा राष्ट्रियसभाका ४७ दिनमा ५१ वटा बैठक बसेका थिए ।

सभाले यस अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गरेकोे छ । यसैगरी दुई वटा सार्वजनिक महत्वका प्रस्ताव दर्ता भई छलफल भएको थियो भने यस अवधिमा तीन वटा ध्यानाकर्षण सम्बन्धी प्रस्ताव दर्ता भई छलफल गरिएको थियो ।

यस अधिवेशनमा राष्ट्रिय सरोकार तथा समन्वय समितिले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बाराको स्थलगत अनुगमन सम्बन्धी समितिको प्रतिवेदन पेश गरेको थियो ।

यसैगरी दिगो विकास तथा सुशासन समितिले आव २०७५/७६ को वार्षिक प्रतिवेदन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र बारपाक सुलिकोट गाउँपालिकाको स्थलगत अवलोकन भ्रमणसम्बन्धी प्रतिवेदन पेश भएको थियो । यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिले आव २०७५/७६ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश भएको थियो ।
रासस