बैतडी दुर्घटनाः ९ जनको अवस्था गम्भिर, उद्धारका लागि हेलिकप्टर जाँदै

बैतडी दुर्घटनाः ९ जनको अवस्था गम्भिर, उद्धारका लागि हेलिकप्टर जाँदै


जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र  चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । 

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

उनका अनुसार चालकसहित आठ प्रहरीको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ । घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरी पाटन विमानस्थलमा ल्याएको उनले जानकारी दिए । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।  

Logo