एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेद्वारी

गैर आवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा युथ कोअर्डिनेटर सुदन थापाले उम्मेद्वारी दिने भएका छन् ।

एनआरएनएको बिश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै जाँदा अध्यक्षका दुवै प्रत्यासी कुमार पन्त र कुल आचार्यले बिश्व दौड लगाइरहँदा अन्य पदमा उम्मेद्वारी घोषणा पनि बढन थालेको छ ।

बिगत १३ बर्षदेखि जापानमा रहेका थापालाई अध्यक्षका दुवै उम्मेद्वारले काम गर्न अब्बल युवाको उपमा दिएका छन । सन २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा अघि बढाएका थापा अहिलेसम्म अनबरत रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन् ।

उनले गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा वर्तमान एनआरएनए आइसीसी युवा संयोजक भएर काम गरेका छन् ।

थापाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष रहदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६०औ वर्षगांठको अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा एतिहासिक नेपाल फेस्टिवलको आयोजना गरेका थिए ।