फिफा विश्वकपमा आजः तेस्रो खेलमा मेक्सिको र पोल्यान्ड भिड्दै

फिफा विश्वकपमा आजः तेस्रो खेलमा मेक्सिको र पोल्यान्ड भिड्दै


फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा मेक्सिको र पोल्यान्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे रंगशाला ९७४ मा हुनेछ ।

मेक्सिको १७ औं पटक विश्वकपमा सहभागिता जनाउँदैछ । पोल्यान्ड भने नवौं पटक विश्वकप खेल्दैछ । यसअघि यी दुई टोलीको भेट सन् १९७८ को विश्वकपमा भएको थियो । त्यसबेला समूह चरणको अन्तिम खेलमा पोल्यान्डले ३-१ को जित निकालेको थियो ।

पछिल्लो सात संस्करणमा अन्तिम १६ को यात्रा तय गरेको मेक्सिकोले आयोजकको भूमिकामा भने राम्रो प्रदर्शन गरेको छ । सन् १९७० र १९८६ मा मेक्सिको क्वाटरफाइनलमा पुगेको थियो । पछिल्लो तीनै संस्करणमा मेक्सिकोले समूह चरणमा युरोपेली राष्ट्रलाई पराजित गरेको छ । गत संस्करणको पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई १-० ले हराएको थियो ।

पोल्यान्डले पछिल्लो तीनै विश्वकपमा समूह चरण पार गर्न सकेको छैन । सबै अवसरमा टोलीले सुरुवाती दुई खेलमा हार र अन्तिम खेलमा सान्त्वना जित हासिल गरेको छ । टोलीका स्टार फरवार्ड रोबर्ट लेवान्डोस्की अझै पहिलो विश्वकप गोलको खोजीमा छन् । छनोटमा भने उनले ३० गोल गरेका छन् ।

मेक्सिको र पोल्यान्डले समग्रमा अन्तर्राष्ट्रिय फुटबलमा ९ पटक खेलेका छन् । पोल्यान्डले ४ खेल जित्दा मेक्सिको ३ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिएको छ । हालसम्म विश्वकपमा पोल्यान्डले ३४ खेल खेल्दा १६ जित, ५ बराबरी र १३ खेलमा हार बेहोरेको छ । मेक्सिकोले ५७ खेलमा १६ जित, १४ बराबरी र २७ हारको नतिजा निकालेको छ ।

Logo