इतिहास बोकेको बीपी कोइरालाको डायरी
  • ज्ञानमणि नेपाल कालोटोपी
    काठमाडौं,

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको वि.सं. २००८ देखि ०१३ साल सम्मका अप्रकाशित डायरीलाई पुस्तकको रुप दिइएको छ । तत्कालिन अवस्थाको राजनितीक घटनाक्रमलाई उनले व्यक्तिगत रुपमा आफ्नो डायरीमा उतारेर राखेका थिए । ती घटनाक्रमहरु नेपालको इतिहासमा महत्वपूर्ण रहेका छन् । अझ पुस्तककै रुपमा प्रकाशित भएपछि भने यो एउटा संग्रहणिय दस्तावेजको रुपमा रहेको छ । यसलाई संकलन गरेका छन् पदमबहादुर थापाले । पुस्तकको आकार दिएको छ, शिखा बुक्सले । नेपालको प्रजातान्त्रिक आन्दोलनमा के कस्ता उतार चढावहरु आए भन्ने विषय अटाइएको प्रस्तुत पुस्तक बीपीको व्यक्तिगत डायरी मात्रै नभएर पक्कै पनि नेपालको इतिहास बन्ने पक्का छ ।

को हुन् बीपी कोइराला ?

बीपी कोइराला नेपाली राजनिती र साहित्य क्षेत्रमा कुनै नौलो नाम होइन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कोइरालाको जन्म वि.सं.१९७१ भदौ २४ मा बनारसमा भएको हो । उनका बाबुको नाम कृष्णप्रसाद कोइराला हो भने आमाको नाम दिव्या कुमारी । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरि वि.सं. २०१५ सालमा नेपालको २२ औं प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताहरु राजनितीक गुरुको रुपमा मात्र मान्दैनन् , बामपन्थी नेताहरु समेत प्रेरणाका पर्यायका रुपमा लिने गर्छन् । नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले समेत आफूलाई मन पर्ने नेताहरूको सूचीमा बीपी कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए ।

नेपाली भाषा साहित्यमा मनोबैज्ञानिक पक्षलाई भित्र्याएका उनले राजनितीमा समाजवादको अवधारणा अघि सारेका थिए । उनले भन्न खोजेको समाजवाद के हो भन्नेमा भने अहिले पनि निकै थरिका मतहरु बाहिर आइरहेका छन् । उनले त्यतिबेला कल्पना गरेको समाज अहिले सम्म पनि बन्न सकेको छैन । एउटै देशका नागरिक भएपनि कोहि महलमा छन् त कोहि सडकमा । यहि दृष्य देखेर त्यतिबेला उनले भनेका थिए , गरिबको एउटा सानो भएपनि घर होस् । केटाकेटीले पढ्न पाउन् , रोगीहरुले सिटामोल पाउन् । कुटिर उद्योगलाई संरक्षण र प्रगतिशिल कर र क्रान्तिकारी भूमिसुधार ।

एकाथरिले कोइरालाले दिएका यी अभिव्यक्तिलाई त्यतिबेलै संकुचितरुपमा लिए भने अर्काथरिले परिवर्तनशिल र यथार्थमा आधारित भनेर व्याख्या गरे । खासमा उनले अघि सारेको समाजवाद नै यहि हो । जसलाई अहिले वामपन्थीहरुले पनि राजनितीको मुल सुत्रका रुपमा लिने गरेका छन् । तर अहिलेको समय सम्म पनि वि.पी को सपना साकार हुन भने सकेको छैन ।

अहिलेको सन्दर्भमा कोइरालाको समाजवाद

बीपी सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु संविधानसँग मेल खाने नै थिए, जो त्यतिबेला देखि यतिबेला सम्म पनि सान्र्दभिक छन् । गरिबको एउटा सानो भएपनि घर होस् भन्ने कुरा संबिधानको आबासको हकसँग सम्बन्धित छ । केटाकेटीले पढ्न पाउन, भन्ने कुरा शिक्षाको अधिकारसँग जोडिएर आएको छ । उनले भनेको रोगिहरूले सिटामोल पाउन् भन्ने कुरो स्वास्थ्य र उपचारको हकसँग सम्बन्धित छ । कुटिर उद्योगलाई संरक्षण र प्रगतीशील कर, क्रान्तीकारी भुमिसुधार जस्ता कुराहरू देशको आर्थिकपक्षसँग सम्बन्धित छन् । जसलाई विपीले समाजबादका प्रमुख तत्वका रुपमा अघि सारेका थिए ।

राजनीतिक उद्देश्यसहित गठन भएको नेपाली कांग्रेसलाई बिपीले केबल प्रजातन्त्रको मात्र चर्चा गर्नु निरर्थक कुरा हो भन्ने निष्कर्षका साथ ‘समानता र न्यायको आधारमा सम्पूर्ण समाजको पुननिर्माण गर्ने आर्थिक लक्ष्यसम्म डोहो¥याएका थिए । जबसम्म न्यायपूर्ण आधारमा समाजको पुनर्निर्माण भइसक्दैन, तबसम्म समाजको सर्वाङ्गीण विकास असम्भव छ भन्ने विश्लेषण गर्दै बी.पी.ले आर्थिक समानतामा विशेष जोड दिएका थिए । पाँच प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमिन हुनु तथा ९५ प्रतिशत व्यक्ति भूमिहीन रहनुलाई उनी अन्यायपूर्ण ठान्थे । त्यसैले भूमिसुधार र जमिनको न्यायोचित पुनर्वितरण बीपीको प्राथमिक आर्थिक एजेण्डा थियो ।

समाजले जमिनबाट जति परिमाणमा उत्पादन गर्नुपर्छ, सामन्ती उत्पादन प्रणालीमा त्यतिमात्रामा उत्पादन लिनु संभव छैन भन्ने उनको मान्यता थियो । यसरी बी.पी. सामन्तवादको अन्त्य गर्ने कुरालाई मुलुकको विकासको अनिवार्य तत्व मान्थे । त्यसैले उनको नेतृत्वमा गठित पहिलो जननिर्वाचित सरकारले बिर्ता उन्मूलन गर्ने निर्णय गरेर नेपालमा सामन्ती उत्पादन पद्धतिलाई कमजोर पार्ने ऐतिहासिक कदम चालेको थियो ।

कोइरालाको राजनितिक जीवन

बीपीको राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट शुरु भएको हो । आन्दोलनमा लागेकै कारण उनी र उनका दाई मातृकाप्रसाद कोइरालालाई सन् १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमै पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरेपछि दार्जिलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिक रहेका थिए । सन् १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरेको थियो । त्यहाँबाट छुटेपछि उनले सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुनपछि गएर नेपाली कांग्रेस बन्न पुग्यो । आज सम्म पनि काँग्रेस जन्माउने मुख्य श्रेय विपीलाई नै जान्छ । काँग्रेसी नेताहरुले मुल नाराको रुपमा अघि सारेको बीपीवाद यथार्थमा भने विल्कुलै उल्टो हुन पुगेको छ ।

नेपालमा सक्रियता

सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । सन् १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे । विसं. २००७ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शमशेरको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने । सन् १९५९ (विसं. २०१५) मा भएको पहिलो आमनिर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र चल्न सकेको थियो ।

बि.सं. २०१७ साल पुस १ (१५ डिसेम्बर १९६०) गते राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान तथा कोइरालाको सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिनानै ८ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा राखियो । सन् १९६८ मा उनलाई बनारस निर्वासनमा जान दिइयो । १९७६ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा कैद गर्यो । अन्तर्राष्ट्रिय दबाबका कारण १९७८ मा उनका बिरूद्ध लगाईएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । १९७९ को (२०३६ सालको आन्दोलन) बेला उनलाई आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो ।

महामानव बीपी

बीपी कोइरालालाई उनका धेरैजसो अनुयायीहरू अहिले महामानवको विशेषणले प्रशंसित गर्छन् । यो विशेषणभित्र अन्तरनिहित माया, विश्वास र सद्भावलाई बुझ्न सकिन्छ । तर यसो भनिरहँदा उनलार्ई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको सङ्घर्ष, शिक्षा र आदर्शलाई देश–काल सापेक्ष राखेर विश्लेषण गर्ने र आजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ । अन्यथा, उनलाई आफ्नो समयका सारथीका रूपमा बुझ्न सकिँदैन । तत्कालिन देशको विषम परिस्थितीमा पनि समाज सुधारको मुख्य एजेण्डा बोकेर सर्घष गर्नु पक्कै चानचुने कुरा थिएन । त्यसैले उनलाई सर्मथकहरुले महामानवको उपनाम भिराएका हुन् ।

बहुआयामिक व्यक्तित्व बीपी

बीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एक विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् । साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू हस्तान्तरण गर्ने कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आज पनि उत्तिकै अनुभव गर्न सकिन्छ ।

बीपी समाजवाद र प्रजातन्त्रलाई अविभाज्य विषय ठान्थे । असमानता या आर्थिक शोषण विद्यमान भएको प्रजातन्त्र प्राण नभएको शरीर जस्तो मात्र हो । त्यस्तै प्रजातन्त्र नभएको समाजवाद पनि केबल नारा मात्र हो, शोषणको अर्को नाम मात्र हो । यसरी बीपी समाजवाद र प्रजातन्त्र अन्तरघुलित भएको ती दुई तत्वबीच सामञ्जस्य र सन्तुलन भएको समाज निर्माण गर्न चाहन्थे भन्ने स्पष्ट देखिन्छ । यिनै अवधारणाहरू प्रजातान्त्रिक समाजवादको रूपमा अगाडि सारिएका थिए ।

निष्कर्षमा

बीपीको परिकल्पनाको प्रजातान्त्रिक समाजवादको रिभिजिट गर्ने बेला भएको छ । स्थिति बदलिएको छ, भन्ने नाममा समाजवादी मूल्यहरूलाई नै तिरष्कार गरेर नवउदारवादका सामु आत्मसमर्पण गर्ने कुरा जत्ति हानीकारक छ, त्यति नै बदलिँदो सन्दर्भ, परिवेश र आवश्यकताको परिप्रेक्ष्यमा ती अवधारणालाई विकास र समृद्ध पार्न छाडेर केबल ‘बीपीको समाजवाद’ भन्दै शब्दोच्चारण गरेर पनि आजका चुनौतीका सामना गर्न संभव छैन । यस सन्दर्भमा खास गरी बीपीले जन्माए–हुर्काएको पार्टी नेपाली काँग्रेसको विशेष ध्यान जानु आवश्यक देखिन्छ ।

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता वि.पी. कोइराला स्वतन्त्ररुपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन् । उनको निधन वि.सं. २०३९ साउन ६ गते भएको थियो ।