‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङलाई दर्शकको यस्तो गुनासो (भिडियोमा)

काठमाडौं । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले आक्रामक व्यापार गरेको छ । जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार ‘कबड्डी कबड्डी कबड्डी’ बाट चलायमान बनेको हो । प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मप्रति शनिबार पनि दर्शकको क्रेज उस्तै जबरजस्त देखिएको छ । बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा फिल्मले आक्रामक व्यापार गरेको छ।

राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्समा कब्जा जमाएको यो फिल्म शनिबार देशैभर शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भएको वितरक मनोज राठीले जानकारी दिएका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि काठमाडौंको पाँच स्टेशनमा कूल ३८ सोज बाँडेको थियो । फिल्म हेर्न उर्लिएको दर्शकको भीड देखेर शनिबार ३ सोज बढायो ।

देशैभर फिल्मको आक्रामक व्यापारबाट खुसी भएको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरेको थियो । दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराललाई साथ लिएर निर्देशक गुरुङ शनिबार दिउँसो गोपीकृष्ण हल पुग्दा दर्शकले न्यायो स्वागत गरे ।

फिल्मका कलाकारसँग सेल्फी खिच्न दर्शकको भीड लागेको थियो । फिल्म हेरेर निस्किएका दर्शकले अभिनेता दयाहाङसँग ‘काजीको कहिल्यै बिहे नहुने भयो’ भन्दै गुनासो गरेका थिए । तर, दर्शकले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गोपीकृष्णको बालकुनीमा उभिएर कलाकारहरुले दर्शकसँग फिल्मको गीत पनि गाए । शनिबार आफ्नो जन्मदिन मनाइरहेकी अभिनेत्री उपासनाले हलमै फिल्मको टिमसँग केक काटेर जन्मदिन पनि सेलिब्रेट गरिन् । उनले पहिलो केक दयाहाङलाई खुवाएकी थिइन् ।

उपासनाले जन्मदिनमा दर्शकबाट पाएको मायाले एकदमै खुसी भएको बताइन् । यो फिल्ममा उनको अभिनयको निकै प्रशंसा भइरहेको छ ।