‘कबड्डी कबड्डी कबड्डी’ को आक्रामक व्यापार, दुई दिनमै कमायो ३.२५ करोड

काठमाडौं । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले आक्रामक व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई दिनमै ३ करोड २५ लाख बढीको व्यापार गरेको हो ।

प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मले दोस्रो दिन १ करोड ७८ लाख रुपैयाँ कमाएको हो । शनिवार बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा फिल्मले आक्रामक व्यापार गरेको हो ।

राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्समा कब्जा जमाएको यो फिल्म शनिबार देशैभर शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भएको वितरक मनोज राठीले जानकारी दिए ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि काठमाडौंको पाँच स्टेशनमा कूल ३८ सोज बाँडेको थियो । फिल्म हेर्न उर्लिएको दर्शकको भीड देखेर शनिबार ३ सोज बढाएको थियो ।

शनिबार फेरि २ सोज थपेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ले मल्टीप्लेक्समा बलिउड फिल्म ‘द जोया फ्याक्टर’ र हलिउड फिल्म ‘र्‍याम्बो’ लाई समेत विस्थापित गरेको थियो । यी दुबै फिल्मले हलमा दर्शकको चर्को अभाव खेपेका थिए ।

देशैभर फिल्मको आक्रामक व्यापारबाट खुसी भएको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गरेको थियो ।

दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराललाई साथ लिएर निर्देशक गुरुङ शनिबार दिउँसो गोपीकृष्ण हल पुग्दा दर्शकले न्यायो स्वागत गरेका थिए । अर्को रोचक कुरा त के छ भने ‘कबड्डी कबड्डी कबड्डी’ का लागि एकदमै छोटो समय ब्रेक टाइम दिइएको थियो । सो बढी चलाउनुपर्ने भन्दै ब्रेक टाइम कम दिइएको थियो ।