जितपछि प्रकाशमानले भने, ‘म प्रधानमन्त्रीको योग्य छु, अवसर पाए पछि हट्दिनँ’

जितपछि प्रकाशमानले भने, ‘म प्रधानमन्त्रीको योग्य छु, अवसर पाए पछि हट्दिनँ’


नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । 

मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनेका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् । उनले मतदाताको भनाइ र मागहरुलाई सम्बोधन गर्ने बताए । उनले आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताएका छन् । 

सिंहले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने आश्वासन दिएका छन् । उनले काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए ।  उनले भने, ‘मलाई चौैथो पटक काठमाडौं १ बाट विजयी गराउनु भयो । त्यो विश्वासलाई विगतमा जस्तो विश्वासमा अलिकति पनि आँच आउन दिने छैन । मतदाताको भनाइ, मागहरुलाई सम्बोधन गर्नेछु । यसपटक म आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काम गर्नेछु । खानेपानीको समस्या समाधान गर्नेछु, मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन छिटो गर्ने काममा प्राथमिकता दिनेछु । काठमाडौंका नदीहरु वागमती, विष्णुमती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाउन सोचिसकेका छौँ । वागमती, विष्णुमती पहिलाजस्तै बनाउनेछौँ । प्रदूषण नियन्त्रणका लागि काम गर्नेछौँ ।’

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने उल्लेख गरे । उनले भने, ‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली काँग्रेसको संसदीय दलको नेताको लागि प्रतिष्पर्धा गरेकै हो । देशभरबाट काँग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रसेस जान्छ । विधि र प्रसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन ।’ 

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका काँग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत मात्रै ल्याएका छन् । 

Logo