तीन दिन खोज्दा पनि भेटिएन जीप , गोताखोर काठमाडौं फर्किए

सङ्खुवासभा,

एक हप्ता अघि जिल्लाको अक्कर भिरबाट जीप अरुण नदीमा खसेर बेपत्ता भईरहेकाहरुलाई गोताखोर टोलीले तीन दिनसम्म खोज्दा पनि भेटेका छैनन् । घटनास्थलमा जीप र बेपत्ता यात्रुहरुलाई नभेटिएपछि गोताखोर टोली फर्किएका छन् ।

अक्कर भिरको खोँचबाट करिव ४० मिटर तल रहेको अरुण नदीमा जीप खसेको थियो । जीप खसेको ठाउँमा पानी जमेको जस्तो भए पनि तीब्र गतिको घुमाउने (पानीको भुमरी) भएकोले खोज्न समस्या परेको थियो । जीप खसेकै ठाउँमा हुनसक्ने धेरैले आसंका गरिए पनि त्यस ठाउँमा केही पनि नभेटिएको गोताखोर टोलीले जनाएको छ ।

जीप खसेको ठाउँमा नभएको र अन्यत्र नै बगेर गएको निष्कर्ष निकालेर उनीहरु फर्केका हुन् । खोजी कार्यको अन्तिम दिन शनिबार ठुलो क्षमताको चुम्बक प्रयोग गरेर जीपको खोजी गरे पनि त्यस ठाउँमा नभेटिएपछि अन्यत्र नै गएको टोलीले निष्कर्ष निकालेको हो ।

अरुण नदी अत्याधिक धमिलो भएकोले पानी भित्र ‘भिजिविलिटी’ कम हुँदा खोज्न अप्ठ्यारो भएको खोजी कार्यमा संलग्नहरुले जनाएका छन् । पानी भित्र केही नदेखिएपछि पानीको सतहसम्म नै छामेर खोजीएको गोताखोर टोलीका हवल्दार बलराम अधिकारीले जानकारी दिनुभयो ।

जीप खसेको स्थान निक्कै गहिरो र लेदोले पुरिएको भएकोले पनि खोजी गर्न निक्कै अप्ठ्यारो भएको अधिकारीले जानकारी दिनुभयो । छामेर खोज्दा नभेटिएपछि चुम्बकको सहायताले गाडी खोजीए पनि नभेटिएपछि त्यस ठाउँमा जीप र मानिसहरु नभएको निष्कर्षमा पुगेको हवल्दार अधिकारीले बताउनुभयो ।
गोरखापत्रबाट