‘यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी थिचेर हत्या गरेँ’

सिन्धुली । सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । यौन प्रस्ताव अस्वीकार गर्दा सिन्धुलीको मरिण गाउँपालिका १ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्या भएको हो । गत बिहीबार दिउँसो छलिमायाको हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा प्रहरीले १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

गाउँमै रहेको हजुरआमाको घरमा गएर फर्केकी छलिमायाको पिछा गरेका ती किशोरले नजिकैको जंगलमा रहेको खोल्सामा पुगेर बालिकाको हत्या गरेका थिए । बालिकासँग करिब एक घण्टा गफ गरेपछि यौन प्रस्ताव राखेका थिए छलिमायाले यौन प्रस्ताव अस्वीकार गरेपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको सिन्धुली प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले जानकारी दिए ।

‘एक घण्टासम्म बसे । अनि यौन प्रस्ताव राखे र तर उनले अस्वीकार गरिन । त्यसपछि घाँटी थिचेर हत्या गरे ।’ ती किशोरले प्रहरीसँगको बयानमा भनेका छन् । किशोरले आफुले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा घाँटी निमोठेको र बालिका लडेपछि पुनः थिचेर हत्या गरेको स्वीकार गरेको एसपी सिंहको भनाए छ ।

ती किशोरलाई शनिबार मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको हो । परिवारका सदस्यले खोजी गर्दा बालिका फेला नपरेको र असोज ३ गते साँझ मृत फेला परेपछि हत्याबारे प्रहरीले जानकारी पाएको एसपी सिंहले बताए । बालिकाको शव सिन्धुली अस्पतालमा शनिबार नै पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको उनले बताए ।

बालिकासँगै ती किशोर गएको देखेका स्थानीय व्यक्तिले जानकारी दिएपछि प्रहरीले खोजी गरेको थियो । काठमाडौंको होटलमा मजदुरी गर्दै आएका ती किशोरले बालिकासँग यसअघि पनि यौन सम्बन्ध राखेका थिए । पक्राउ परेका किशोरलाई आइतबार जिल्ला अदालत सिन्धुलाीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।