प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना जारी छ ।
बुधबार दिउँसो २ बजेसम्म प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १३ सिट, नेकपा एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, माओवादी केन्द्रले २, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, जनमत पार्टीले एक र नागरिक उनमुक्ति पार्टीले एक सिट जित हासिल गरेका छन् । प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिक तर्फ भने पहिलो दल बनेको छ ।
हालसम्मको मतगणना अनुसार एमाले २ लाख ४१ हजार मतसहित अग्रस्थानमा छ । ४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको एमाले ४४ निर्वाचन क्षेत्रमा अगाडि छ ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले २ लाख १९ हजार मत प्राप्त गरेको छ । प्रत्यक्षमा १३ स्थानमा जित हासिल गरेको काँग्रेस ५२ स्थानमा अगाडि छ ।
त्यसैगरी केही महिना अघि मात्रै गठन भएको दल राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ । रास्वपाले समानुपातिकमा हालसम्म १ लाख १२ हजार मत पाएको छ । देशको राजधानी काठमाडौको ३ निर्वाचन क्षेत्रमा आफ्नो जित निकाली सकेको रास्वपाले ८ ठाउँमा अग्रता लिएको छ ।
समानुपातिकतर्फ नेकपा माओवादी केन्द्रले १ लाख मत कटाएको छ । माओवादीले हालसम्म २ सिट जितिसकेको छ भने १७ स्थानमा अघि छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार मत प्राप्त गरेको छ । राप्रपाले प्रत्यक्षतर्फ १ निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ । विभिन्न ५ स्थानमा अग्रस्थानमा छ ।
यस्तै, जनता समाजवादी पार्टी, नेपाल जसपाले समानुपातिकतर्फ करिब १९ हजार मत प्राप्त गरेको छ । जनमत पार्टीले १७ र नेमकिपाले १६ हजार मत प्राप्त गरेको छन् । एकीकृत समाजवादीले १३ हजार मत प्राप्त गरेको छ ।
मतगणना क्रम जारी रहँदा नै रवि लामिछाने नेतृत्वको रास्वपा तेस्रो दल बन्ने देखिएको छ ।
प्रतिक्रिया