प्रचण्डको प्रश्न- ‘नाम त कम्युनिष्ट पार्टी नै छ, हामी के सच्चा कम्युनिष्ट हौं ?’
धुम्बाराहीमा आयोजित सहाना प्रधानको पाँचौ स्मृति सभा मन्तव्य राख्नुहुँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । तस्वीरः रत्न श्रेष्ठ/रासस

काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को आन्दोलनको आवश्यकता रहेको बताएका छन् । अहिलेका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न अर्को आन्दोलनको आवश्यकता रहेको बताएका हुन् ।

नेतृ सहाना प्रधानको पाँचौं स्मृति दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘ हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’

त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने बताए। कम्युनिष्टको आदर्शबाट च्यूत त भइरहेका छैनौं भन्ने प्रश्न गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नाम त कम्युनिस्ट पार्टी नै छ । तर हामी साच्चै कम्युनिस्ट नै जस्ता छौं त अहिले ?’

कम्युनिस्ट भन्नासाथ लामो समयदेखि गरिब, उत्पीडित, न्याय, स्वतन्त्रता, समानताका निम्ति लडेको भनेर सम्झिएर जनताले भोट दिएको बताए । प्रचण्डले भने, ‘तर यसो व्यवहार, आचरण हेर्दा उस्तै उस्तै देखियो नि ।’