नेपाली हेयर स्टाइलिष्ट निल डेभिड ‘एमएस टक’ इन्डियामा

काठमाडौं । नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले हेयर स्टाइलिङलाई करियर मात्र नबनाइ सयौं व्यक्तिलाई रोजगारी दिन पनि सफल भएको बताएका छन् । अध्ययनका लागि विदेश जानुअघि सात पटक भिसा अस्विकृत भएको बताउँदै त्यसपछि हेयर स्टाइलिङ क्षेत्रमा प्रवेश गरेको बताए ।

भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम एमएस टक मा आफ्नो करियर तथा जीवनमा पाएको सफलताबारे जानकारी गराउँदै यस्तो बताएका हुन् । दिल्लीमा आयोजित कार्यक्रममा नेपालबाट नीलडेभिडलाई मात्र निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरहरुले आफ्नो जीवनमा गरेको संघर्षबारे वर्णन गरेका थिए । दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित उक्त कार्यक्तममा कटवालले आफ्नो जीवनको वास्तविक यात्रालाई प्रारम्भदेखि आजसम्मको सफलतालाई वर्णन गरेका थिए ।

‘उनले आफ्नो संघर्षको कथा थाल्नुअघि भगवान पशुपतिनाथलाई स्मरण गरेका थिए । पशुपतिको स्मरण गर्दा उपस्थित अन्यले समेत पशुपतिनाथले कल्याण गर्ने कामना गरेका थिए ।

निलेन्द्र कटवालबाट नीलडेभिडमा रुपान्तरण हुन गरेको संघर्षको आफ्नो कथालाई उपस्थित व्यक्तिहरुले निकै रुचीपूर्ण तरिकाले सुनेको उनको भनाइ छ । समारोहमा एमएस टकका फाउन्डर मिस्ट अर्थर सेरीले नीलडेभिडको सफलताको यात्रालाई प्रशंसा गर्दै नेपालको नाम अझ बढि उच्च बनाउन शुभकामना दिएका थिए ।

नीलडेभिडले आफ्ना नेपाली ब्राण्डलाई नेपालमा मात्र नभएर भारतमा समेत स्थापित गराइसकेका छन् । आफ्ना दिवंगत बुवाको नाममा सन् २०२१ देखि फाउण्डेसन स्थापना गरेर ३ सय जना निम्नस्तरका बालबालिकाहरुलाई निःशुल्क हेयर एण्ड ब्यूटी तालिम दिएर रोजगार दिलाउन नीलडेभिडको योजना छ । नीलडेभिडका नेपाल र भारतमा गरी ७० भन्दा बढी सलाने तथा एकेडेमी सञ्चालनमा छन् ।