श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई ५ सयमा प्लेन चढाउने

काठमाडौं । निजी लगानीको विमान कम्पनी श्री एयरलाइन्सले ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई पाँच सय रुपैयाँमा प्लेन चढाउने भएको छ । असोज १२ गतेबाट लागू हुनेगरी ८५ वर्षमाथिका जेष्ठ नागरिकलाई पाँच रुपैयाँमा प्लेनमा यात्रा गराउने भएको हो ।

श्रीले प्रति उडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले उल्लेख गरेको छ । त्यस्तै ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटमा हवाइ यात्रा गराउने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गरेपछि पहिलो पटक नेपाल एयरलाइन्सले ५० प्रतिशत छुट घोषणा गरेको थियो ।

श्री एयरलाइन्सले सांकेतिक रुपमा उक्त घोषणाको समर्थन गर्दै जेष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने छ ।

सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने छ । यो छुट श्री एयरलाइन्सले बेलाबेला सार्वजनिक गर्ने अफर फेयरमा भने लागु नहुने बताएको छ । टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने भएको छ ।