छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या, आत्महत्याबाटै सकियो सिंगो परिवार

कैलाली । एक जनाले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका हुन् ।

सल्फास नामक विषादीको सेवनबाट दुवैजनाको ज्यान गएको कैलाली प्रहरीले जनाएको छ । गत वैशाख १६ गते कलेलकी श्रीमती सरिताले कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । सरिताले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो ।

साउन २२ गते अदालतले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको केही समयपछि छोरीसहित आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।