अमेरिकी सांसद भण्डारी नेपाल आउने

नेपाली मुलका अमेरिकी सांसद एवम् राज्य सञ्चालन समितिका सदस्य ह्यारी भण्डारी नेपाल आउने भएका छन्।  आफ्नो जन्मथलो नेपालको पर्वत भएर अमेरिका बसेपनि आफु जन्मेको ठाउँको झनै बढी माया रहेको भन्दै उनले भ्रमण वर्ष सन् २०२० को अवसरमा नेपालको भ्रमण गर्ने बताएका हुन् ।

उनले नेपालमा लगानी र विकासका प्रशस्त सम्भावना रहेको बताउँदै आफुले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाए । नेपालमा जलविद्युत, पर्यटन, जडीबुटी उत्पादन, कृषिलगायत क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उनले बताए । छोटो समयमै अमेरिकाको तल्लो सदनको सांसद भएका ह्यारी राज्य सञ्चालन समितिको सदस्यसम्म पुगेका छन् ।

उनले जलजला गाउँपालिकामै विवाह भएकाले पनि जलजलामा पुग्दा आफुबाट केही न केही गर्ने आश्वासन दिए । पर्वतको जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध विस्तारका लागि त्यहाँ पुगेको जलजला यामबहादुर मल्ल (रामकृष्ण) नेतृत्वको टोलीसँगको अन्तक्रियामा ह्यारी विशेष अतिथिका रुपमा सहभागी भएका हुन् ।

कार्यक्रममा भ्रमण टोलीका सदस्य एवं सामाजिक –विकास अनुसन्धानकर्ता राममणी थपलियाले नेपालमा साधन स्रोतको अभाव नेपाली अर्थतन्त्रको समस्या नभएको बताए । नेपाली अर्थतन्त्रमा हरेक वर्ष जारी हुने बजेटको खर्च गर्ने क्षमता राज्यसँग नभएको बताउँदै जारी बजेटको सदुपयोग मात्र भए आर्थिक विकासले फड्को मार्न सुरु गर्ने उनले बताए ।

 

एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र जलजलाको विकास निर्माणको अवस्थाको बारेमा आदानप्रदान गर्दै भगिनी सम्बन्ध गाँस्ने तयारी भएको बताए ।

अध्यक्ष मल्लले सिटी अफ एटलान्टाका मेयर किसा लेन्स बतम्सलाई जलजला गाउँपालिकाको निमन्त्रणा पत्र प्रदान गरेको जानकारी दिए ।