एनआरएनएको अध्यक्षमा कुमार पन्तको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा कुमार पन्तले अध्यक्षको उम्मेदवारी दिएका छन् ।

सन् १९७६ मा जन्मिएका पन्त गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष हुन् । पन्तले जर्मनलगायतका युरोपका विभिन्न मुलकका होटेलहरूमा लगानी गरेका छन् । साथै नेपालमा जलविद्युत् परियोजना, बैंकिङ, रेमिट्यान्स, रियल स्टेट, सिमेन्ट उद्योगलगायतमा समेत उनको लगानी छ ।

सन् २००४ मा एनआरएनए अभियानमा संलग्न भएका पन्तले सन् २००५ मा जर्मनीको हिस्सेन क्षेत्रका संयोजकको जिम्मेवारी सम्हाल्ने मौका पाए । सन् २००९ देखि २०११ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भएसँगै युरोप क्षेत्रको संयोजकको जिम्मेवारी बहन गर्न पुगे । सन् २०१३ देखि २०१५ मा महासचिव भए र २०१५ पछि आइसिसी उपाध्यक्षको जिम्मेवारीमा छन् ।

नेपालमा एनआरएनएमैत्री नीति, नियम र संविधान बनाउन, लगानीको वातावरण सिर्जना तथा सहजीकरण गर्ने पन्तले जानकारी दिए ।