समानुपातिकः संघ र प्रदेशमै एमाले अगाडि, माओवादी तेस्रो स्थानमा उक्लियो

समानुपातिकः संघ र प्रदेशमै एमाले अगाडि, माओवादी तेस्रो स्थानमा उक्लियो


प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । 

समानुपातिकतर्फ निर्वाचन आयोगको तथ्याङ्क अनुसार यो रिपोर्ट तयार पार्दासम्म एमालेले १९ लाख १२ हजार मत प्राप्त गरेको छ भने  कांग्रेसले १८ लाख ४० हजार मतका साथ पछ्याइरहेका छन् । तर, लगातार चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) भने तेस्रो स्थानमा उक्लिएको छ । माओवादी केन्द्रले आठ लाख ११ हजार प्राप्त गरेको छ । साथै राष्ट्रिय स्वतन्त्र पार्टी सात लाख ९७ हजार मतका साथ शिर्ष चारमा रहेको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख १० हजार, जनता समाजवादी पार्टीले दुई लाख २७ हजार, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ७६ हजार, नागरिक उन्मुक्ति पार्टीले एक लाख ६३ हजार र जनमत पार्टीले एक लाख ५६ हजार मत प्राप्त गरेको छ । 

साथै प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख १७ हजार मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ८० हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९९ हजार, माओवादी केन्द्रले ९० हजार मत प्राप्त गरेको छ । 

मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४४ हजार मत पाउँदा एमालेले एक लाख १६ हजार, जसपा नेपालले एक लाख, जनमत पार्टीले ८० हजार मत प्राप्त गरेको छ । 

बागमती प्रदेशसभामा एमाले तीन लाख २२ हजार मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ७८ हजार, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ५५ हजार मत प्राप्त गरेको छ । 

गण्डकी प्रदेशसभामा एमालेले दुई लाख ९४ हजार मत पाएको छ । कांग्रेसले दुई लाख ७२ हजार, माओवादी केन्द्रले एक लाख १० हजार मत प्राप्त गरेको छ । 

लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८४ हजार, कांग्रेसले तीन लाख ४७ हजार, माओवादी केन्द्रले एक लाख ३७ हजार तथा राप्रपाले ८४ हजार मत पाएका छन् । 

कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ९२ हजार मत पाउँदा एमालेले ८९ हजार, कांग्रेसले ७२ हजार तथा एकीकृत समाजवादीले २२ हजार मत प्राप्त गरेको छ । साथै सुदूरपश्चिम प्रदेशसभामा एमालेले दुई लाख तीन हजार, कांग्रेसले एक लाख ९१ हजार, माओवादी केन्द्रले ८९ हजार तथा नागरिक उन्मुक्ति पार्टीले ५२ हजार मत प्राप्त गरेको छ ।

Logo