सुदूर पश्चिमेली नृत्यको पर्याय बन्दै देवु वरा (भिडियो रिपोर्ट)
  • कृष्णसिंह धामी ।

काठमाडौं । भनिन्छ जो नाच्छ ऊ धेरै बाँच्छ । अर्थात् नाच्ने मानिस लामो समय बाँच्छ भन्ने मान्यता छ । नृत्यमै संसार झुल्छ । यही मान्यताका साथ यतिबेला देश परदेशमा चर्चामा आउन सफल छन् नृत्य निर्देशक देवु वरा । परिवारमा कान्छो सदस्यका रुपमा जन्मिएका वरा पाँच महिनाको हुँदा नै बुबा बिँते ।

बैतडी पुख्र्यौली घर भई कैलालीको त्रिवेणीनगरमा बस्दै आएका वरा सानैदेखि नृत्यप्रति रुचि राख्थे । र अहिले नृत्यलाई नै आफ्नो प्यासन बनाएका छन् । घरमा सबैभन्दा कान्छा छोरा वरा पाँच महिनाको हुँदा नै बाबु स्वर्गीय भए । बाबुको माया कस्तो हुन्छ भन्ने अनुभव उनले लिन पाएनन् ।

एक पटक सानै छँदा सडक नाटक लिएर धनगढीबाट डोटी गएका थिए । उक्त सडक नाटकमा उनले बूढो मानिसको एक्टिङ गर्नुपर्ने थियो । भनिन्छ, महिलाको चरित्र र पुरुषको भाग्यको भगवानले समेत देखेका हुँदैनन् । हो, डोटीको कार्यक्रम वराको लागि त्यस्तै भयो । उक्त कार्यक्रममा काठमाडौंबाट निर शाह र तुलसी भट्टराई गएका थिए । उनीहरूले वराले एकदमै राम्रो नाच्छन् भन्ने कता कता सुनेका थिए ।

तसर्थ उनीहरूले वरालाई नृत्य गर्ने प्रस्ताव राखे । तर वराले कुनै तयारी गरेका थिएनन् । तयारीबिना पनि उनले ‘क्या राम्रो देउलको जिल्ला’ भन्ने गीतमा नाचे । वराको नृत्य दुवैजनालाई मन पर्यो । उनीहरूले काठमाडौं आउन प्रस्ताव गरे । उनीहरू काठमाडौं फर्किएको केही दिनमा वरालाई बोलावट आयो ।

गीत संगीतप्रति वराको रुचि बढ्नुको कारण निकै पीडादायी छ । उनको बाबुको निधनपछि वरा अरूको बुबा हुनुहुन्छ मेरो बुबा खै? भन्दै प्रश्न गर्दै आउथे । उनको प्रश्नमा एकातिर पीडा दिन्थ्यो भने अर्कोतिर सबैजना जवाफविहीन बन्थे । उनलाई भुलाउन पनि दिदीले मादल बजाएर उनलाई गीत सुनाउँथिन् । जसले गर्दा पनि उनलाई नृत्यप्रति उनको रुचि बढ्यो ।

सुदूरपश्चिममा नाचिने छलिया, हुड्क्यौली, चञ्चल, धमारी, ठाडी भाकाको नृत्य आदिमा वरा निकै पोख्त छन् । उनलाई अर्को अर्थमा सुदूरपश्चिमको नृत्यको पर्यायबाचीको रूपमा लिँदा पनि फरक पर्दैन । सुदूरपश्चिममा गीतमा चर्चामा आउने गरेपनि नृत्यलाई आधुनिकतामा ढाल्ने वरा पहिलो व्यक्ति हुन् । सांस्कृतिक सम्पदाको हिसाबले सबैभन्दा अगाडि रहेको सुदूरपश्चिम प्रचार प्रसारको अभावमा ओझेलमा परेको प्रति उनलाई निकै दुःख लाग्छ ।

वराको अर्को विशेषता भनेको नृत्य गर्दा लगाइने ड्रेसअप क्षणभरमै चेन्ज गर्न सक्ने क्षमता हो । उनी जस्तो सुकै नृत्य गर्दा पनि ड्रेसअप एकदम चाँडो चेन्ज गरिहाल्छन् । मौलिक भाकाको नृत्यमा क्षणभरमै ड्रेसअप चेन्ज गर्नु सामान्य कुरा होइन तर वराको लागि त्यो सामान्यजस्तै हो ।

२०५७ सालमा काठमाडौं छिरेका वराको यात्रा कसरी अगाडि बढ्यो त ? उनले केही समय राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा काम गरे । काम पनि गर्ने सँगै नृत्य पनि गर्ने । उनले दुवै कामलाई सँगै अगाडि बढाउने क्रममा कलाकारका विभिन्न संघ संस्थासँग जोडिए । वरा भन्छन्–‘काठमाडौंमा बसेर सुदूरपश्चिमको भाषा संस्कृतिको भाकामा नृत्य गर्नु त्यति सजिलो थिएन । अहिले पो धेरै मानिसहरूको काठमाडौंमा बसोबास छ । त्यो बेला त थोरैको संख्यामा सुदूरपश्चिमबासी काठमाडौंमा बस्थे । उनीहरूले सडकमा पनि कार्यक्रमको आयोजना गर्थे । सडकमा कार्यक्रम गर्दागर्दै अहिले स्थापित हुन सकिएको छ ।’

अहिले सुदूरपश्चिमको नृत्यहरू नेपालमा मात्र नभएर विदेशमा पनि हुने गरेका छन् । वराले सिकाएका शिष्यहरूले विदेशमा पनि सुदूरपश्चिमेली भाकामा गीतमा नृत्य प्रस्नुत गर्दा उनलाई आफैं त्यहाँ उपस्थित भए जस्तो लाग्छ ।

उनले आफ्नो कल्चरमा सुदूरपश्चिममा प्रसिद्ध भाकामा गीतमा मात्र नभएर अन्य भेगका गीतमा पनि नृत्य सिकाउने गरेका छन् । जहाँ निकै नाम चलेका सेलिब्रेटीहरू समेत आउने गरेका छन् । आजभन्दा १४ वर्षअघि उनले सुदूरपश्चिमेली भाकाको गीतमा डान्स थेरापी, जुम्बा डान्स सिकाउँथे । त्यस्तै डान्स, योग क्लास पनि दिने गरेका छन् । एक्सरसाइजको बेला पनि सुदूरपश्चिमको नृत्यहरू समावेश गर्ने गरेका छन् ।

उनले सानो उमेरबाटै डान्स टिचरको गरिमा पाएका छन् । सानैदेखि नृत्यमा माहिर वराले कुनै कोर्ष पढेर वा कुनै क्लास लिएर सिकेका भने होइनन् । उनलाई नृत्य कौशल गड गिफ्टकै रूपमा प्राप्त भएको छ ।

उनी कला संस्कृतिको संरक्षण गर्दै प्रचार प्रसार मात्र गरिरहेका छैनन् । उनको प्रतिभाप्रति युवा जमात पनि आकर्षित भइरहेको छ । उनी भन्छन्, ‘सुदूरपश्चिम तथा देशभरका परम्परागत कला संस्कृतिमा युवाको आकर्षण घट्दो छ । उनीहरू आधुनिक गीत संगीतलाई बढी महत्व दिन्छन् । तर म मार्फत आउने नयाँ पीढीलाई यही कला संस्कृतिबाट प्रभावित पारिरहेको छुँ ।’