हुम्लामा वाम-लोकतान्त्रिक गठबन्धनको प्यानल निर्वाचित

हुम्लामा वाम-लोकतान्त्रिक गठबन्धनको प्यानल निर्वाचित


एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ । प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा (माओवादी केन्द्र)का छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा(एमाले)का दल रावल थिए । 

लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए । राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका छन् । यस्तै बदर पाँच सय २४ भएको थियो । 

प्रदेशमा पनि गठबन्धनका विजयी
हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी भएका छन् । परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले  चार हजार छ सय ३० मत प्राप्त गरे । यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे ।

यस्तै हुम्ला प्रदेश (२) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरेका हुन् । 

शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरे । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का  नैनसिंह रावतले ९८ मत प्राप्त गरे भने जनता समाजवादी (जसपा) का  बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले  २१ मत प्राप्त गरे । यस्तै एक सय १९ मत बदर भएको  छ । 

Logo