देशका ६३ जिल्लामा स्क्रब टाइफस, ३ जनाको मृत्यु

काठमाडौं,

डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ ।

केहि दिन अघि कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागि कैलालीको धनगढीमा रहेको मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो ।

नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको हो । यसवर्ष मात्रै यस रोगबाट ५ सय ५४ जना बिरामी भएका छन् । महाशाखाका अनुसार स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ ।

स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३० र चितवनमा ५६ जना रहेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने स्क्रब टाइफस रोग मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जङ्गल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट हुने गरेको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

यस रोगको उपचारको लागि सरकारले निःशुल्क रुपमा किटको व्यवस्था गर्दै आइरहेको पनि महाशाखाले जनाएको छ । १५ देखि २० वर्ष पहिलादेखि यो रोगको समस्या नेपालमा देखिए पनि सरकारसँग भने ७ वर्ष पहिला देखिको मात्रै रेकर्ड रहेको छ ।