सत्ता गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्ने ठानेका छौं -माधव नेपाल

सत्ता गठबन्धनलाई अगाडि बढाउनुपर्छ भन्ने ठानेका छौं -माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडी बढाउनुपर्ने पक्षमा उभिएको छ ।  मंगलवार पार्टी केन्द्रिय कार्यालयमा बसेको एकीकृत समाजवादीको बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडी बढाउनुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले शतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए । उनले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताए । 

त्यस्तै, सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेकाे सन्दर्भमा सो विषयमासमेत छलफल भएको उनले जानकारी दिए । 

उनले भने, ‘हाम्रो पार्टीले देशभर पाएको मतको छलफल ग-यौँ । इलाम र उदयपुर बारे छलफल ग-यौँ । इलाममा अनेकौँ खालका विसंगतिहरु देखिए । विसंगति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भिर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानूनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ । त्यस बारेमा छलफल भएको छ । राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडी बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भिर चिन्तन, मनन ग-यौँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भिरताकासाथ लिनुपर्ने र शतर्क  हुनुपर्ने आवश्यकता महशुस ग-यौँ । यस हिसावमा गठबन्धनका दलहरुसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडी बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ ।’ 

साथै अध्यक्ष  नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको पनि बताएका छन् । मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल नभएको उनले उल्लेख गरे । 

आफ्नो पार्टीले निर्वाचनमा थ्रेस होल्ड कटाउनेसमेत अध्यक्ष नेपालले दाबी गरेका छन् । 

बैठकले पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक, शुभचिन्तक र मतदान सम्पन्न गराउन भुमिका खेल्ने सरकारी निकायहरुलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।  

उनले भने ‘आज जे–जस्तो मत परिणाम हामीले प्राप्त ग-यौँ । यो मत परिणाम हामीले सोचेजस्तो छैन । तर सोचेजस्तो छैन भन्दैमा हामीले गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धीहरुलाई रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावना अनुसार भोलिपनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमा हामी पुगेका छौँ ।’
 
उनले निर्वाचनको समग्र समिक्षा भने सबै जिल्लाहरुबाट रिपोर्ट आइसकेपछि आगामी बैठकहरुमा गरिने बताए ।

Logo