‘नागरिकको भरोसा जोगाउन प्रधानमन्त्रीमा मेरो दाबी’ -महामन्त्री थापा

‘नागरिकको भरोसा जोगाउन प्रधानमन्त्रीमा मेरो दाबी’ -महामन्त्री थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यक्ता रहेको बताएका छन् । 

लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको महामन्त्री थापाले बताएका हुन् । उनले नेपाली कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए । 

मंगलवार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली काँग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । 

उनले भने, ‘संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरुले राख्ने, बीचमा छलफल हुने, बहस हुनेकुरालाई एकदमै स्वभाविक रुपमा लिनुपर्छ । मैले यसलाई स्वभाविक रुपमा लिएको छु । एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हाले संसदीय दलको नेता बनाएको हो । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईको आशिर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरुलाई पनि पक्कै स्मरण गर्नुहुनेछ । त्यो बेलामा उहाँहरुको नै आवश्यक्ता थियो । उहाँहरुको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली काँग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ । पार्टी भन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरुको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरुलाई बुझाउन सकिन्छ ।’
 
महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरुको साथ आफूलाई रहेको पनि बताए । उनले अधिकांश काँग्रेस सांसदहरुसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरुलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरुले सहयोगको वाचा गरेको बताए । 

महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने र काँग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरुलाई आश्वस्त बनाउन सकिने बताए । उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए । 

नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरुसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरुकै समर्थन र आशिर्वादमा आफूले काँग्रेसबाट देशको अबको नेतृत्व गर्ने उनले दाबी गरे । ‘साथीहरु सकारात्मक हुनुहुन्छ । हाम्रो प्रयास हामी सबैभन्दा पहिला सभापतिजीसँग कुरा गर्छौं । वरिष्ठ नेतासँग कुरा गर्छौं । हाम्रो पहल त उहाँहरुको आशिर्वाद लिएर समर्थनमा अघि सारेको हो भन्ने पहल हुन्छ । निर्वाचनको मतको परिणामको कुरा एउटा हो र सन्देशको कुरा एउटा हो । यो मतले दिएको सन्देशलाई हामीले त बुझेका छौँ भने अग्रज नेताहरुले बुझ्नुभएकै छ । उहाँहरुसँग बसेर कुराकानी गन बाँकी छ ।’ उनले भने ।

महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुन् । निर्वाचन अघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताको लागि तयारी थाल्ने बताएका थिए । पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोईराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन त्यत्ति सहज भने छैन । 

Logo