‘केही दिन बाँचेर बालबच्चाको भविष्य हेर्ने मन छ !’
  • कृष्णसिंह धामी ।

काठमाडौं । ४० वर्षअघि कालीकोटमा जन्मिएका राकेश योगी सानामै छँदा निमोनिया ग्रसित बने । ३–४ वर्षको हुँदा नै निमोनियाले उनलाई कमजोर बनाउँदै गयो । त्यही निमोनियाका कारण उनलाई यति कमजोर बनाइदियो कि अहिले जीवन र मरणसँग संघर्ष गरिरहेका छन् । त्यही निमोनियाका कारण योगीले जीवनमा गह्रौँ भारी उठाउने काम गर्न सकेनन् ।

जसले गर्दा उनले न राम्रो घरबार नै जोड्न सके न त बालबच्चाको राम्रो स्याहार गर्न सके । परिवारमा सबैभन्दा कान्छो छोराको रूपमा जन्मिएका राकेश सानैदेखि कमजोर थिए । काम गर्न सक्ने अवस्थामा थिएनन् । तसर्थ आमाबुबा उनलाई धेरै पढाएर केही बनाउने सोचमा थिए । तर बुबाको असामयिक निधनले त्यो पनि पूरा हुन पाएन ।

एकदमै गरिब तथा विपन्न परिवारमा जन्मिएका राकेशले त्यही बेला निमोनियाको राम्रो उपचार गर्न सकेको भए अहिले यो अवस्थामा पुग्ने थिएनन् । पछिल्लो दुई वर्षदेखि उपचार गराइरहेका राकेश मण्डिखाटारस्थित एउटा घरमा बस्दै आएका छन् । उनी बस्ने कोठा यतिबेला कुनै मेडिकलजस्तै देखिन्छ । एकातिर अक्सिजन सिलिण्डर चौविसै घण्टा तैनाथ राखिएको हुन्छ भने अर्कोतिर औषधिको थुप्रो छ ।

आजभन्दा दुई वर्षअघि उनी एकाएक बेहोस भए । उनलाई तुरुन्त अस्पताल लगियो । महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा उपचारको क्रममा उनको फोक्सोमा समस्या देखियो । फोक्सोमा समस्या आउँदा एकाएक उनी बेहोस हुने । फोक्सोले काम गर्न छोडेपछि रगत जम्ने । रगत जमेपछि दिमागले काम गर्न छोड्ने र बेहोस हुने उनको समस्या हो ।

बेहोस भएपछि उनलाई तुरुन्तै अस्पताल लगिहाल्नुपर्छ । उनलाई सुरुमा तीन महिना टिचिङको आईसीयूमा राखियो । त्यहाँ उनको शरीरमा भएको रगत निकालियो । करिब ३ पिन्ट खराब रगत उनको शरीरबाट फालियो । त्यसपछि मात्र उनी होसमा आए । यो क्रम अहिलेसम्म दुई पटक भइसकेको छ । अब पनि रगत फाल्नुपर्ने अवस्था आएमा बाँच्ने सम्भावना अत्यन्तै कम रहेको चिकित्सकहरूले चेतावनी दिएका छन् ।

दैनिक १८ घण्टा अक्सिजनको सहारा:

परिवारका साथमा राकेश योगी ।

ब्लड सर्कुलेसनको लागि दैनिक १८ घण्टा अक्सिजनको सहारामा जीवन धानिरहेका राकेश तीन महिनादेखि डाक्टरको निगरानीमा छन् । हेम्स अस्पतालका फोक्सो विशेषज्ञ डा. राजु पंगेनीको निगरानीमा रहेका राकेशको फोक्सोमा घाउ भएको भाग काटेर नयाँ प्रत्यारोपण गर्नुपर्नेछ । त्यसको लागि उपचार खर्च जुटाउन नसकेर उनी निकै चिन्तित बनेका छन् ।

उनको अक्सिजन खर्च नै दैनिक चार सय रुपैयाँभन्दा बढी हुन्छ । त्यस्तै खाना, औषधी गर्दा त उनको मासिक ३० हजार बढी खर्च हुन्छ । एकातिर उनको उपचार खर्च जुटाउन गाह्रो भइरहेको छ भने अर्कोतिर श्रीमती, बालबच्चाको भविष्यले पनि राकेशलाई पिरोल्ने गरेको छ ।

कमाएर श्रीमती, छोराछोरीलाई पाल्नुपर्ने बेला उनी नै थला परेका छन् । उनकी श्रीमती तुलसीलाई पनि कहीँ कतै काम गरौं भन्दा पनि मिल्दैन । घरमा भएका ससाना छोराछोरीको लालनपालनका साथै श्रीमानको हेरचाह पनि उनकै टाउकोमा छ । जसले गर्दा उनी एक सेकेण्ड पनि घर छोडेर बाहिर जान पाउँदिनन् ।

उपचार खर्च मात्र ५० लाख बढी

आफ्नो जीवनको संघर्षबारे जानकारी दिनुहुदैं राकेश योगी ।

अहिलेसम्म १५ लाखभन्दा बढी खर्च भइसकेको छ । अझै ५० लाख बढी खर्च लाग्नेछ । उनको फोक्सो नै ड्यामेज भएको छ । फोक्सो पुरै ड्यामेज भएको भए त नयाँ प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ । तर उनको केही भागमा घाउ देखिएकाले त्यसलाई काटेर फाल्नुपर्ने चिकित्सकको भनाइ छ । त्यसको लागि नेपालमा सम्भव छैन । भारतको चेन्नाई जानुपर्ने हुन्छ । अबको दुई महिनापछि उपचार प्रक्रिया सुरु हुनेछ । तर डाक्टरले भनेअनुसार ५० लाख रुपैयाँ कहाँबाट ल्याउने ? राकेश प्रश्न गर्छन् । प्रत्यारोपण गर्नुपरेको भए करोडौं रुपैयाँ लाग्थ्यो । तर त्यो भने गर्नु नपर्ने डा. पंगेनीको भनाइ छ ।

बालबच्चाकै पिरलो

उनीहरूका दुई छोरा एक छोरी गरेर तीन सन्तान छन् । उनीहरू १२ वर्ष मुनिका छन् । छोराछोरीसँग जीवनमा तीतामीठा सपनाहरू साट्नुपर्ने बेला उनी नै जीवनको तीतो अनुभवको भोगाइमा छन् । बालबच्चाको भविष्य बनाउनुपर्ने बेलामा उनी नै मृत्युसँग संघर्ष गरिरहेका छन् । ‘आफ्नै जीवनको टुंगो छैन । कसरी छोराछोरीको भविष्य बनाउने ?’ उनको प्रश्न छ ।

सहयोगी मनहरूबाट आफ्नो उपचार खर्चसँगै परिवारको ज्यान धानिरहेका राकेशमाथि यतिबेला अर्को समस्या आइलागेको छ । जुन घरमा बस्दै आएका छन् । त्यो घर खाली गर्न उनीहरूलाई घरबेटीको उर्दी छ । बाँचुन्जेल कोठाभाडा नलिने घोषणा गरेका घरबेटी अहिले भने विभिन्न कारण देखाउँदै कोठा खाली गर्न भन्दै आएका छन् ।

मासिक ७ हजार कोठाभाडा तिर्ने सर्तमा बसेका राकेश परिवारले अहिलेसम्म पानी र बिजुलीको बाहेक कोठाभाडा तिरेको छैन । तर अबदेखिको भाडा तिर्ने सर्तमा बस्न दिनभन्दा पनि घरबेटीले मानेका छैनन् । ‘अब हुँदैन । मेरो घरमा पनि समस्या छ । अहिलेसम्मको म एक रुपैयाँ पनि भाडा लिन्न । कोठा खाली गरिदिनुपर्यो ।’ घरबेटीको उर्दी हो । एकातिर आफ्नो शरीरको पीडा छ, अर्कोतिर कोठाको चिन्ताले सताएको छ ।

योगीको त्यो पीडा…

श्रीमती तुलसी योगीको साथमा राकेश योगी ।

योगीमाथि बेला–बेला विभिन्न खाले बज्रपात पर्ने गर्छ । सानैदेखि कमजोर राकेशलाई साथीभाइले कमजोर भनेर हेप्थे । कालीकोटको नरहरिनाथ गाउँपालिका लालुमा जन्मिएर कैलालीको घोडाघोडीमा बस्थ्ये । उनलाई साथी भाइले ‘घरे’ भनेर जिस्काउथे । फोक्सोमै समस्याका कारण श्वासप्रश्वासमा समस्या हुँदा उनको नाम नै ‘घ्यारे’ राखिएको थियो ।

कमजोर, काम गर्न नसक्ने हुँदा पनि उनको विवाह गरियो । विवाह गरेको लामो समयसम्म पनि बालबच्चा हुन सकेन । त्यसपछि श्रीमतीले छाडेर गइन् । ‘जे–जस्तो भए पनि त्यस्तो नगर सँगै जीवन जिउँला भन्दा मानिनन् । अन्ततः छाडेर गइन् । उनकै कारण बच्चा हुन नसकेपछि छोडेर नजाऊ भनेको थिएँ । तर मानिनन् । अहिलेसम्म पनि उनी माइतमै बस्दै आएकी छन् ।’ आफ्नो विगत सम्झँदै राकेशले भने ।

राकेशको जीवनमा नयाँ खुसी:

पहिलाको श्रीमतीले छाडेर गएपछि राकेशले २०६५ वैशाखमा दोस्रो विवाह गरे । दोस्रो श्रीमतीको रूपमा भित्रिएकी तुलसीले पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिइन् । त्यसपछि राकेशको परिवारमा खुशीयाली छायो । पहिलो छोरा हुर्किदै थियो । त्यहीबेला तुलसी फेरि गर्भवती बनिन् ।

उनले दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिइन । छोरीको जन्मसँगै राकेशको परिवारमा खुशीयाली थप उचाइमा पुग्यो । त्यही क्रममा उनीहरुको तेस्रो सन्तानको रूपमा फेरि छोरा जन्मियो । तीन सन्तानका अभिभावक योगी सन्तानबाट भने निकै खुसी छन् । तर उनीहरूको लालनपालन गर्न नसक्दा निकै पीडामा छन् ।

सहयोगी मनहरूको सहयोगमा बाचिरहेको जिन्दगी

पछिल्लो आठ महिनादेखि राकेशको परिवार सहयोगी मनहरूले दिएको सहयोगबाटै बाँचिरहेको छ । ‘मसँग आयस्रोत छैन । उहाँहरूले दिनुभएको उपचार खर्चबाटै नानीबाबुको पढाइ खर्च पनि चलाएको छु । आफ्नो औषधी उपचार तथा घरखर्च पनि त्यही पैसाबाट चलिरहेको छ ।’ राकेशले भने ।

सानैदेखि निमोनियाबाट पीडित राकेश काम गर्न सक्दैनथे । काम गर्न नसके पनि खान लाउन त चाहियो । श्रीमतीले भने उनलाई निकै साथ दिइरहेकी थिइन् । घोडाघोडीमा एउटा स्कूलको जग्गा भाडामा लिएर उनीहरूले सानो होटल चलाएर परिवारको गुजारा चलाइरहेका थिए । जुन काम श्रीमतीले गर्थिन् । उनी त घरका अभिभावकजस्तो मात्रै थिए । सबै काम श्रीमतीले नै गर्थिन् ।

जेजस्तो दुःखमा पनि घरपरिवारको जिन्दगी चलेकै थियो । तर उनी एकाएक बिरामी परेदेखि न श्रीमतीले काम गर्न सकेकी छन् न त आयस्रोतको अन्य विकल्प छ । श्रीमतीकै कारण यहाँसम्म पुगेको राकेश बताउँछन् । ‘श्रीमती नभएको भए म त कहिलेको मरिसक्थेँ होला । उनकै कारण यतिसम्म बाँच्ने आधार पाएको छु ।’ निकै भावुक बन्दै राकेशले भने ।

‘केही दिन बाँचेर बालबच्चाको भविष्य हेर्ने मन छ’

आफू नबाँचे पनि बालबच्चाहरूका लागि केही गर्न चाहेको हुँ । तर आफूले कमाउन नसकेपछि सहयोग मागेरै भए पनि उनीहरूको लागि लालनपालन गर्दै छु । आफूले बालबच्चाहरूको भविष्य दिन नसके पनि अरू कसैद्वारा उनीहरूको भविष्य बन्ला कि भन्ने झिनो आशा पालेर बसेका छन् राकेश ।

‘५०/६० लाख जम्मा गरेर उपचार गरेपछि म बाँच्न त बाँचुँला तर सक्षम त हुन सक्दिन । बालबच्चाको भविष्य दिनसक्ने गरी त बलियो हुन सक्दिन । बाँच्न त केही दिन बाँचिएला बच्चाहरूको भविष्य हेर्नलाई । औषधि उपचार गरेर त्यो चाहना पूरा त होला । भविष्य दिन नसक्ने पीडा मलाई छ । त्यो पीडामा मलम लगाउन नेपाली दाजुभाइ–दिदीबहिनीले आजसम्म निकै सहयोग गर्नुभएको छ । त्यसैले बालबच्चाहरूको भविष्य पनि सबै नेपालीको हातमा दिएको छु ।’ निकै भावुक बनेका राकेशले भने ।

राकेशले आफ्नो उपचारभन्दा पनि बालबच्चाको भविष्य निर्माणका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरेका छन् । सहयोग गर्नको लागि सनराइज बैंक कैलाली शाखामा रहेको रत्ननाथ योगीको खाता नम्बर ०४७१०२९२०२२०१७ मा रकम जम्मा गरिदिन अनुरोध गरेका छन् । राकेशलाई ९८६५७७८८३९ मा सम्पर्क गर्न सकिन्छ ।