तिलोत्तमा लगानी सम्मेलनमा १६ अर्बको प्रतिबद्धता

रुपन्देही,
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा झण्डै १६ अर्बको लगानी प्रतिबद्धता आएको छ । नगरपालिकाले २२ क्षेत्रमा गरेको प्रस्तावमध्ये ३० क्षेत्रमा लगानी प्रतिबद्धता आएको हो ।

लगानी प्रतिबद्धता आएका प्रस्तावमध्ये कृषि, पर्यटन, उद्योग, सीप विकास र रोजगारीसँग सम्बन्धित रहेको तिलोत्तमा नगरपालिकाका प्रेस संयोजक बिपी गौतमले जानकारी दिनुभयो । प्रतिबद्धता आएका संस्था र तिलोत्तमा नगरपालिकाबीच आज नै प्रारम्भिक सम्झौतासमेत भएको उहाँले जानकारी दिनुभयो । लगानी प्रतिबद्धता आएकामध्ये युकेएड र नगरपालिकाबीचको साझेदारीमा प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी सीप परियोजना सञ्चालन गर्ने प्रतिबद्धतामा प्रारम्भिक सम्झौता भएको छ । यस्तै नेपाल बैंक लिमिटेडले नगरभित्रका वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै आत्मनिर्भर हुन व्यवसाय सञ्चालन गर्न चाहने, द्वन्द्वपीडित र विपन्न परिवारका जनतालाई नगरपालिकाको सिफारिसमा सहुलियत कर्जा उपलब्ध गराउन रु एक करोड लगानी गर्ने प्रतिबद्धता आएको छ ।

लगानी सम्मेलनमा नगरभित्रका सहकारीको समूहको लगानीमा तिलोत्तमा नगरपालिकामा दुग्ध प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता आएको छ । यस्तै रिडी हाइड्रोले ८० करोडको लगानीमा सौर्य ऊर्जा स्थापना गर्ने, एक अर्ब ६० करोडको लगानीमा भाटा रिसोर्ट प्रालि सञ्चालन गर्ने र मिनि नेपाल प्रालिले पर्यटनको क्षेत्रमा स्मार्ट पार्क स्थापना गर्न एक अर्ब ५० करोड लगानीको प्रतिबद्धतामा सम्झौता भएको प्रेस संयोजक गौतमले जानकारी दिनुभयो ।

यसका साथै सङ्घीय सरकारको लगानीमा यस अघिनै घोषणा भएको फोहरमैला प्रशोधन केन्द्र र कृषिउपज सङ्कलन केन्द्रको परियोजनाको कामसमेत अघि बढाउने घोषणा गरिएको छ । लगानी सम्मेलनमा आएका लगानीका प्रस्तावबाहेक निजी क्षेत्रबाट करीब दुई दर्जन उद्योग तथा व्यावसायिक क्षेत्रका लगानीको समेत प्रतिबद्धता जाहेर गरिएको छ । यसका लागि डेरी, मिठाई, कमर्सियल फार्मिङ, स्मार्ट टनेल खेतीजस्ता निजी क्षेत्रबाट लगानीको प्रतिबद्धता आएको उहाँले बताउनुभयो ।

नगरपालिकाले प्रस्ताव गरेका आयोजनामा लगानीकर्ताले जग्गाको समेत माग गरेमा लिजमा जग्गा उपलब्ध गराउने र प्रतिष्ठान स्थापना गर्न आवश्यक कानूनी प्रक्रियालाई सहजिकरण गर्ने र विभिन्न राजश्वमा छुटको व्यवस्था गर्ने छ । यस्तै निजी क्षेत्रका तर्फबाट आउने लगानीकर्तालाई समेत कानूनी प्रक्रियामा सहजीकरण र राजश्वमा छुटको व्यवस्था मिलाइने बताइएको छ । लगानी सम्मेलनमा नगरपालिकाले लगानी सम्मेलनका माध्यमबाट तिलोत्तमा कृषिउपज सङ्कलन तथा प्रशोधन केन्द्र, तिलोत्तमा मासु प्रशोधन केन्द्र, सिटी कलेज, प्रादेशिक बसपार्क, तिलोत्तमा औद्योगिक क्षेत्र, चीन र भारतलाई समेत व्यापारमा जोड्ने गरी बिजनस हब, रेल वे रिङरोडजस्ता परियोजनामा लगानी भित्र्याउने मुख्य लक्ष राखिएको थियो ।
रासस