नेकपा विवाद : वार्ता र बैठक दुवै स्थगित, होम क्वारेन्टाइनमा बस्दै नेताहरु

नेकपा विवाद : वार्ता र बैठक दुवै स्थगित, होम क्वारेन्टाइनमा बस्दै नेताहरु


काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला वार्ता र बैठक दुवै स्थगित भएको छ । वार्ता र बैठक स्थगित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो रणनीति बनाउने कार्यमा लागेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्थायी समिति बैठक स्थगित गरेर सचिवालय बैठकमार्फत अगाडि बढनु पर्ने अडानमा रहका छन् भने अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि स्थायी कमिटी बैठकबाटै जारी विवाद छिनोफानो गर्नुपर्ने अडान अगाडि सार्दै आएका छन् ।

पार्टीको विवाद संवाद नहुने अवस्थासम्म आइपुगेकोप्रति कार्यकर्तामा निराशा छाएको छ । पार्टी विभाजन हुने खतरा बढेको भन्दै नेकपाका ६१ जना सांसदहरुले आफूहरु कुनै पनि पक्षमा नलाग्ने भन्दै हस्ताक्षर अभियान अगाडि बढाएका छन् । तर सांसदहरुले एकताको पक्षमा हस्ताक्षर अभियान सञ्चालन गरे पनि शीर्ष तहमा भने संवाद नै नहुने अवस्था पुगेको छ ।

देशभर बढेको कोरोना संक्रमण पछिल्लो चरणमा उपत्यका काठमाडौंमा फैलिन शुरु गरेसँगै नेकपाका शीर्ष नेताहरु पीसीआर परीक्षण गराएर होम क्वारेन्टाइनमा बसेका छन् । प्रचण्डको बाहिरी सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना संक्रमित भएको पुष्टि भएपछि पीसीआर परीक्षण गराएर प्रचण्ड निवासमै बसेका छन् ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पीसीआर रिपोर्ट नेगेटिभ आएपछि भेटघाटलाई पातलो बनाएको बताएका छन् । ‘खासै भेटघाट गर्नुभएको छैन, पार्टीको जारी विवाद समाधान गर्न अनौपचारिक रुपमा नेताहरुसँग छलफलमा हुनुहुन्छ’ –सापकोटाले भने।

त्यसै गरी नेकपाका महासचिव विष्णु पौडेलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएसँगै उनी पनि हाल होम क्वारेन्टाइनमा रहेका छन् । प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरुले आफू निकटका पत्रकारसँगको अन्तरक्रियामा ओलीविरुद्ध कडा टिप्पणी गरेपछि ओली र प्रचण्डबीच साउन २० यता संवाद हुन सकेको छैन ।

शीर्ष नेताहरुबीच दूरी बढ्दै गएपछि सामाजिक सञ्जालमा आरोप–प्रत्योपमा नेताहरु उत्रिएका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालबीच सामाजिक सञ्जालमार्फत आरोप प्रत्यारोप देखिएको छ । दुई अध्यक्षबीच जारी विवादमा सहमति जुटेपछि बैठकले निरन्तरता पाउने आशा नेताहरूले गरे पनि दुई अध्यक्षबीच सहमति बन्न नसक्दा सचिवालय र स्थायी कमिटीको बैठक दुवै अन्योलमा परेको छ ।नेपाल समाचारपत्रबाट

Logo