नेपाल जिम्बाब्बेसँग ५ विकेटले पराजित

सिंगापुर,

सिंगापुरमा भएको त्रिकोणात्मक टी २० सिरिजको पहिलो खेलमा नेपाल जिम्बाब्बेसँग पराजित भएको छ । शुक्रबार साँझ भएको खेलमा टेस्ट राष्ट्र जिम्बाब्बेसँग नेपाल ५ विकेटले पराजित भएको हो ।

इन्डियन एशोसियसन मैदान सिंगापुरमा भएको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरी १३२ रन बनाएको थियो । १३३ रनको लक्ष्य पछ्याएको जिम्बाब्बेले १८.१ ओभरमा ५ विकेट गुमाएर जित हात पार्‍यो । नेपालले सुरुवातमा जिम्बाब्बेको लगातार विकेट लिई दबाबमा राखेको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरी आशा दिलाएका थिए । ४ ओभरमा सन्दीपले १९ रन दिएर ३ विकेट लिए । कुशल मल्ल र पारस खड्काले १–१ विकेट लिए ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए दीपेन्द्रले ३३ बलमा ५ चौकाको मद्दतमा ४० रन बनाएका हुन् र उनीपछि सोमपाल कामीले १४ बलमा २५ रनको योगदान गरे । कप्तान पारस खड्काले २२ बलमा १८ रन बनाउँदा सन्दीप जोराले १५ बलमा १७ र विनोद भण्डारीले १२ बलमा ११ रन जोडे । जिम्बाब्बेका लागि कप्तान जेअम विलियसले नेपालको २ विकेट लिए । नेपाल शनिबार सिंगापुरसँग खेल्नेछ ।