‘शून्य प्रहरको साक्षी’बाट हेर्दा कवि महेश पौड्याल
  • केशव लम्साल-

कविता भावनाको सङ्गीत हो जसलाई भाषाको सुमधुरताले हाम्रो हृदयसम्म पुर्‍याउँछ । कविताका माध्यमबाट कविले आफ्ना विचार, विवेक र चेतनालाई पाठकहरू समक्ष पुर्‍याउँछन् । कवितामा माधुर्य, विचारको गहकिलो बान्की र सम्प्रेषणात्मक भाषा भयो भने मात्र पाठकले आफूलाई कवितामा भेट्न सक्छन् ।

कविता सम्बन्धी हरेक व्यक्तिका आफ्नाआफ्नै धारणा हुन सक्छन् । कविता प्रतीकमय, लाक्षणिक र खँदिलो हुनुपर्छ भन्नेहरू पनि छन् । प्रकृति र आँसुका विषय मात्रै कविता होइनन् कवितामा परिवर्तनको आवाज आउनुपर्छ भन्नेहरूको जमात पनि नरहेको होइन । यस्तै आशा र अपेक्षाको कसीमा नेपाली कविता लेखन अगाडि बढिरहेको छ ।

नेपाली साहित्यका अभियन्ता तथा विश्वविद्यालयमा अङ्ग्रेजी विषय प्राध्यापनरत महेश पौड्यालले १०८ वटा कविताहरूको सङ्ग्रह शून्य प्रहरको साक्षीमार्फत् नेपाली कविता विधामा आफ्नो परिचय बनाएका छन् । विगत एक दशकदेखि कविता साहित्य प्राध्यापन गर्दै आएका तथा समालोचनाको क्षेत्रमा आफूलाई स्थापित गरिसकेका पौड्यालले यस सङ्ग्रहमार्फत कवितालेखनको परम्परित ढाँचाभन्दा पृथक् धार प्रस्तुत गर्ने साहस गरेका छन् ।

दिव्य दृष्टि, सौन्दर्य चेतना र स्वतस्फूर्त संवेदनाका आधारमा आफ्नो परिवेशका अनुभूतिहरूलाई पौड्यालले यस सङ्ग्रहका कवितामा प्रस्तुत गरेका छन् । झट्ट हेर्दा जेनजस्ता लाग्ने यी कवितामा समाज, देश, सामाजिक भोगाइ र संस्कृति मुख्य विषयवस्तु बनाइएका छन् ।

छोटा कविताको सङ्ग्रह प्रस्तुत गरेर कविता लेखनमा पौड्यालले एउटा नौलो थालनी गरेका छन् । आयामका दृष्टिले कविता छोटा र अर्थपूर्ण हुनु नै यस सङ्ग्रहको विशेषता हो । प्रायः कविता चार लाइनदेखि पाँच, छ लाइनमै सकिएका छन्,जुन आफैँमा नौलो प्रयोग हो । यी कवितालाई हेर्दा शब्दको थुप्रो मात्रै पनि कविता होइन रहेछ भन्ने एक प्रकारको विचार उत्पन्न हुन्छ । कवि लेख्छन्:-

जूनकीरी
सायद समयले लेख्छ हाम्रो अस्तित्व
तिमीले दिनमा जति चम्कन खोजे पनि
आफू चिनिन
रात नै पर्खनुपर्छ । (पृ.२०)

सङ्ग्रहका प्रायः सबै कवितामा सूक्ष्म नाटकीय घटनालाई प्राथमिकताका साथ प्रयोग गरिएको छ । यस अर्थमा सङ्ग्रहका कविताहरू लघु आयामका हुन गएका छन् । कवितामा आएका बिम्बप्रतीकले कतै मिथकीय सन्दर्भलाई जोडेका छन् भने कतै हाम्रै सामाजिक बिम्बलाई प्रस्तुत गरेका छन् ।

जन्मँदा ऊ र म ससाना पृथ्वी थियौँ
उसले आफ्ना वरिपरिका पर्खाल भत्काउँदै गयो
र बुद्घ भयो
म आफ्ना वरिपरि पर्खाल लगाउँदै गएँ
र धूलो भएँ । (पृं ५४)

कविले अहिलेका मान्छेको जीवनको सम्पूर्ण यथार्थलाई माथिको कवितामार्फत देखाउन खोजेको देखिन्छ । जब मान्छे स्वार्थसँग नजिक बन्दै जान्छ तब ऊ समाजमा साँघुरिदै जान्छ भन्ने यथार्थको पुष्टि बुद्घ र अहिलेका मान्छेलाई जोडेर गरेका छन् ।

कविता विचार र भावको दृष्टिकोणले कसिलो र खँदिलो हुनुपर्छ । कविताले एउटा व्यक्तिको चिन्तालाई मात्र बोकेको हुनु हुँदैन । समाजको आवाजलाई प्रतिनिधित्व गर्न सक्नु पर्दछ । जोन किट्सले परिभाषित गरेअनुसार कविता रुखमा पात पलाए जसरी आउनु पर्छ अन्यथा नआएकै जाती हुन्छ । किट्सको भनाइसँग सहमत हुँदै पौड्यालका कविताले पनि समाजका साझा विचारलाई नै प्रस्तुत गरेको देखिन्छ । यस सङ्ग्रहमा आएका कविताहरू कविका व्यक्तिगत पक्षसँग सम्बन्धित नरही समाजसापेक्ष रहेको प्रस्ट हुन्छ ।

नाङ्गो हुनु त सियोजस्तो
सर्वाङ्ग नाङ्गै छ
तर युयौँदेखि
मानिसको लाज छोप्ने लुगा
सिइरहेछ, निःशब्द । (पृ. ३०)

सङ्ग्रहमा उठान गरिएको अर्को महत्त्वपूर्ण विषय सीमान्तकृत वर्गको प्रतिनिधित्व पनि हो । कवि पौड्यालले समाजमा उपेक्षित, अपहेलित व्यक्तिहरूको यथार्थलाई जस्ताको तस्तै प्रयोग गरेका छन् । सबाल्टर्न वर्गले भोग्नुपरेको सामाजिक नियतिलाई कविताको विषय बनाएका पौड्यालले आफू तटस्थ साक्षी बस्ने प्रयास गरेका देखिन्छन् ।

कवितामा साक्षी बनेका पौड्यालले कतै पनि गुनासा एवम् असन्तुष्टि प्रकट गरेका छैनन् । कवितामा आएको अर्को सबल पक्ष भनेको बालमनोविज्ञान हो । सङ्ग्रहका केही कविता बालमनोविज्ञानमा आधारित छन् । बच्चाको जस्तो निश्छल व्यवहार भएमा हामीले भोगिरहेको सामाजिक असमानता, विकृति एवम् विसङ्गति अन्त्य हुन्छ भन्ने मनोविज्ञान कविमा रहेको देखिन्छ, जस्तैः

बच्चाको खेल भनेर नहियाऊ काजी
तिमी नदी किनारमा सत्रपटक
खेलेर पनि बिहेको खेल
कुमार रहिरहन सक्छौ ?
तिमी मध्य दिनमा मध्य सडकमा
नाङ्गै हिँड्न सक्छौ ? (पृ.१५)

पूर्वीय र पाश्चात्य दर्शनको फेर समाएका यी कविताहरू सामान्य पाठकले एकै पटकमा बुझ्नसक्ने चेष्टा राख्न सक्दैनन् । सङ्ग्रहका कवितामा कविले आफ्नो बौद्घिकता जेजति प्रयोग गरेका छन् ती सबै कतिपय अवस्थामा पाठकको बोध क्षमताले नभ्याएको भान हुन्छ । समालोचनामा कलम चलाएका पौड्यालको कविचेतमा पनि कतै कतै समालोचकीय चेत तीव्र भएको देखिन्छ । यसले गर्दा कविताको विचारले कलात्मक पक्षलाई उछिनेको देखिन्छ ।

परम्परागतभन्दा फरक धारमा प्रस्तुत गरिएका कविताहरू छोटा र अर्थपूर्ण भए तापनि पाठकलाई सपाट महसुस हुन सक्छ । समग्रमा कविता लेखनमा देखिएको यो नयाँ प्रयोगको श्रेय कवि पौड्यालमा नै जान्छ । नेपाली कविता क्षेत्रमा यी छोटा कविताहरूले परिस्कृत स्वाद पाठकहरूलाई दिनसक्ने विश्वास गर्न सकिन्छ ।

समग्रमा दर्शन, बौद्धिकता, सामाजिक मूल्य र मान्यता तथा प्रकृतिप्रेमजस्ता विषयलाई उठान गरिएको शून्य प्रहरको साक्षी एउटा पठनीय कृति हो ।