नामिबियाविरुद्ध नेपाल अलआउट, ज्ञानेन्द्रको करिअरकै उत्कृष्ट प्रदर्शन

नामिबियाविरुद्ध नेपाल अलआउट, ज्ञानेन्द्रको करिअरकै उत्कृष्ट प्रदर्शन


नेपालले आइसिसी विश्वकप लिग- २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । 

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७ रन बनाएको हो । नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पारी खेले । उनले ९४ बलमा सर्वाधिक ७५ रन प्रहार गरे । ज्ञानेन्द्रको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । साथै उनको यो ओडिआई करिअरको उच्च प्रदर्शन पनि हो । यसअघि उनले युएईविरुद्ध ६४ रनको उच्च प्रदर्शन गरेका थिए । 

त्यस्तै, खेलमा आरिफ शेखले २३ रन, आशिफ शेखले २० रन तथा अर्जुन साउद र गुल्सान झाले समान १८/१८ रन जोडे । साथै कुशल भुर्तेल १३ रन तथा कप्तान रोहित पौडेल १० रनमा समेटिँदा अलराउन्डर दीपेन्द्रसिंह ऐरी भने गोल्डेन डक आउट भए । 

बलिङतर्फ नामिबियाका तांगेनी लुंगामेनीले सर्वाधिक ३ विकेट लिए भने कार्ल बिरकेनस्टोक २ विकेट तथा जेजे स्मिथ, बेर्नार्ड शोल्ट्ज र कप्तान जेरार्ड इरास्मसले एकएक विकेट लिए ।  

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ । पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ । 

Logo